अजेय सुमार्गीलाई जग्गा दिने कार्यकाे तीन कम्युनिष्ट पार्टीद्वारा विराेध

अजेय सुमार्गीलाई जग्गा दिने कार्यकाे तीन कम्युनिष्ट पार्टीद्वारा विराेध

नेपाली धनीसूचीका पाँचाैँ नम्बरका व्यक्ति अजेयराज सुमार्गी परिवारलाई भूमिहीन तथा अव्यवस्थित बसाेबासीका नाममा   सरकारी जग्गा दिने तयारीकाे तीन कम्युनिष्ट पार्टीले विराेध गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी दिक्पाल, नेकपा (बहुमत) का संयाेजक शक्ति र नेकपा (मशाल) का प्रतिनिधि रामहरि धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्ताे बदनियतपूर्ण निर्णय तत्काल राेक्न माग गरेका छन् । तीन पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्, 'राज्यले एकातिर सुकुम्बासी भूमिहीनहरुका घर टहराहरुमाथि हात्ती डोजर र आगो लगाएर उनीहरूको घरबास र सम्पत्ति नष्ट गर्ने तथा अर्कातिर भूमिहीन सुकुम्बासीका नाममा भूमाफियाहलाई सरकारी जमिन हस्तान्तरण गर्ने चलखेल अविलम्ब रोक्न र भू-माफियाहरुबाट अनाधिकृत ढंगबाट हुँदैआएको सरकारी / सार्वजनिक जग्गाको लुटपाट र अधिक्रमण तुरुन्त बन्द गर्न गराउन हामी नेपाल सरकार र सम्वन्धित सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछौं ।' 

विज्ञप्तिमा भनिएकाे छ, 'सुमार्गीलाई जग्गा दिने कार्य नराेक्दा उत्पन्न हुनसक्ने सम्भावित परिणामको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष नै हुने कुराको समेत जानकारी गराउँदछौं।' तीन पार्टीकाे निष्कर्ष छ, 'संसदीय व्यवस्थाको पुन:स्थापन पश्चात् देशमा सामन्त तथा दलाल पुजीपति वर्गका मुट्ठीभर मानिसले देशको समग्र श्रोत साधनमा कब्जा जमाउदै लगेका छन् ।'

टिप्पणीहरू