लुम्बिनीमा भागबण्डा मिल्यो, भोलि नयाँ मन्त्रीहरुको शपथ

लुम्बिनीमा भागबण्डा मिल्यो, भोलि नयाँ मन्त्रीहरुको शपथ

लुम्बिनी प्रदेशका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबण्डा लगाएका छन् । उनीहरुले भोलि दिउँसो मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम पनि तय गरेका छन् । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि सरकारलाई पूर्णता दिइएको बताइएको छ । तर नयाँ मन्त्री र भागबण्डा लगाइएको मन्त्रालयको नाम सार्वजनिक गरिएको छैन ।

यसअघि एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री भएका हुन् । पछिल्लो सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित चार र  माओवादी केन्द्रले तीन वटा मन्त्रालय लिने भएका छन् । त्यसैगरी राप्रपा र जनमत पार्टीलाई एक एक वटा मन्त्रालय दिने निर्णय भएको बताइएको छ ।

मन्त्रालयको भागबण्डा टुंगो लागेपछि एमालेले कम्तीमा तीन वटा मन्त्रालयमा पठाउने मन्त्रीहरुको नाम तय गरेको जनाएको छ । भौतिक पूर्वाधार मन्त्रीमा हालका बिना विभागीय मन्त्री आचार्यलाई नियुक्त गरिने र बाँकीमा बर्दियाका दुर्गा थारु, कपिलवस्तुका विष्णु पन्थी र प्युठानका तुल्सीराम शर्मालाई लैजाने एमाले स्रोतको तयारी छ ।

माओवादीका मुख्यमन्त्री दाबेदार संसदीय दलका नेता जोखबहादुर महरा पनि मन्त्री बन्ने भएका छन् । उनलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिने सहमति भएको स्रोतको दाबी छ । मुख्यमन्त्री बन्न चाहेका महराले मन्त्री बन्ने आशक्ति देखाएपछि माओवादीभित्रै चर्को आलोचना भएको छ ।

गत निर्वाचनमा बागी बनेर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित तर पछि माओवादीमा प्रवेश गरेका दिपेन्द्रकुमार पुन मगर सिजलले उनको विरोध गरेका हुन् । तर महरा निकटस्थहरुले भने आफूले आश गरेको उक्त मन्त्रालय नपाएपछि बिरोध गरेको बताएका छन् । उपमहासचिव वर्षमान पुन निकट माओवादी नेताहरुले भने पुनलाई चुनावमा पार्टी छाडेर हिँड्नेले पार्टी निर्णय मान्नुको विकल्प नभएको सन्देश दिइसकेको बताइन्छ ।

टिप्पणीहरू