मत माग्दै कोही जेलमा, कोही घरमा

मत माग्दै कोही जेलमा, कोही घरमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह दिउँसो नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका छन् । शाह टीकापुर नरसंहारका मुख्य अभियुक्त प्रमाणित भएपछि डिल्लीबजारस्थित सदर खोरमा रहेका चौधरीका परिवारलाई भेट्न आज कैलालीस्थित घर गएको बताइएको छ ।

हिजो अबेर मुख्यमन्त्रीको पद ग्रहण गरेपछि शाह जानकी–९ जगतपुरस्थित चौधरीको घरमा पुगेका हुन् । त्यहाँ उनले चौधरीका परिवारका सदस्यसँग भेट गरेका हुन् । कुराकानीको क्रममा शाहले रेशम लगायतलाई जेलमुक्त गराउन आफू कस्सिएर लाग्ने बताएका थिए ।

मुख्यमन्त्रीले चौधरीकी वृद्धा आमा सुनफीदेवी चौधरी र भाइ प्रकाश चौधरीसँगको भेटमा उक्त धारणा राखेका हुन् । घरमा परिवारका सदस्यसँग भेटेपछि शाहले उक्त पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठसँग टीकापुरको एउटा होटलमा कुराकानी गरेका थिए । उनले श्रेष्ठसँग स्थानीय सिद्धार्थ होटलमा भेट गरेका हुन् ।

शाहले मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले सोही सन्दर्भमा उक्त पार्टीको समर्थनको निम्ति आज भेट गरेका हुन् । कम्तीमा २७ सांसदको समर्थन चाहिने भएकाले यतिखेर काँग्रेस र एकीकृत समाजवादीको गरेर जम्मा २३ सीट छ । 

हिजो नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ३० औं दिनमा सत्ताबाट बाहिरिएिको हो । कैलालीको भेटघाटपछि शाह थप छलफलको निम्ति साँझ काठमाडौं आइपुगेको बताइएको छ ।

यसअघि रेशमसँग विश्वासको मत माग्दै एमाले र माओवादीका धेरै जना नेताहरु डिल्लीबजार सदर खोर पुगेका थिए ।

टिप्पणीहरू