प्रधानमन्त्रीको विमान एक घण्टा ढिलो उड्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जानुभएको छ । उहाँ पार्टी मुख्यालयमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा सहभागी भएपछि साढे ९ बजेको समयमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री यसअघि साढे ८ बजे धनगढी प्रस्थान गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री नेपाली सेनाको विमानमा ३४ जनाको टोली लिएर त्यता जानुभएको हो । सेनाको एनए ०६२ कासा विमान प्रधानमन्त्रीसहित झण्डै तीन दर्जन यात्रु बोकेर धनगढी उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बताएको छ ।
टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी, स्वास्थ्यमन्त्री पदम गिरी, मुख्य सचिव शंकरदास बैरागी, मन्त्रिपरिषद कार्यालयका सचिव दिनेश भट्टराई, प्रधामन्त्रीकी निजी सचिव गंगा दाहाल छन् । त्यसैगरी प्रधानमन्त्रीको निजी सचिवालयका रमेश मल्ल र शिव खकुरेल पनि समावेश छन् ।
टोलीका अन्य सदस्यमा सचिवहरु केशव शर्मा, रामकृष्ण सुवेदी, मधु मरासिनी, रोशन पोखरेल छन् । सहसचिवहरुमा नवराज ढुंगाना, गोकर्ण भट्ट तथा अन्यमा लोकेन्द्र भण्डारी, विज्ञ प्रेम चन्द, सूचना प्रविधि विज्ञ प्रकाश रायमाझी पनि सोही विमानमा धनगढी गएको बताइन्छ ।
त्यसैगरी प्रधानमन्त्रीका प्रमुख एडिसी प्रमुख सेनानी निरज भण्डारी, अर्का एडिसी सेनानी जनार्दन सिलवाल, सुरक्षा अधिकृत सेनानी कुमार श्रेष्ठ, डिएसपीहरु सिद्धार्थ न्यौपाने, हेमन्त कार्की, सशस्त्र प्रहरी इन्सपेक्टर मनोज थापालगायत अन्य नौ जना प्रधानमन्त्रीको टोलीमा छन् ।
आजको विमानमा चालक दलका सदस्यमा सेनाका उपरथी ए.एन रानासहित सहायक रथी आर. एस. बोहोरा र सहसेनानी एन घिमिरे रहेको बुझिएको छ ।
टिप्पणीहरू