काठमाडौं उत्रेलगत्तै भारतीय विदेश सचिव भेटवार्तामा व्यस्त
नेपालको तीन दिने भ्रमणमा काठमाडौं आएका भारतीय विदेश सचिव विनमोहन क्वात्रा उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । बिहान पौने ११ बजे काठमाडौं विमानस्थलमा आइपुगेका सचिव क्वात्राले दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।
सचिव राष्ट्रपति भण्डारीसँग भेटवार्ताको निम्ति दिउँसो साढे ३ बजे शीतल निवास पुगेका हुन् । शीतल निवासमा भेटवार्ता आधा घण्टा भएको बताइएको छ ।
त्यसअघि उनले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । महाराजगञ्ज चप्पल कारखाना नजिकै रहेको कुलचन्द्र गौतमको निवासमा बस्दै आउनुभएका देउवा र भारतीय विदेश सचिव क्वात्रासहितको टोलीबिच कुराकानी भएको हो ।
सचिवले परराष्ट्रमन्त्री बिमला राई पौडेलसँग आजै सिंहदरबारमा भेट गरेका छन् । मन्त्री पौडेल र सचिव क्वात्रा नेतृत्वको भारतीय टोलीबीच दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली आज क्रमशः धनगढी र झापाबाट राजधानी फर्कंदै हुनुहुन्छ ।
टिप्पणीहरू