सत्ताको निम्ति म्याराथन जारी

सत्ताको निम्ति म्याराथन जारी

गृहजिल्ला रुकुम पुगेर पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माले काठमाडौंमा सत्ताको म्याराथन चलिरहेको बताउँनुभएको छ । उहाँले संख्यामा भन्दा एजेण्डामा म्याराथनको प्रतिस्पर्धा गर्नसमेत चुनौती दिनुभएको छ । 

माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले ‘२८ औं जनयुद्ध दिवस’ को अवसर पारेर फागुन १ गते आयोजना गरेको ‘पाँचौ सानीेभेरी मौराखारा गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम’मा राष्ट्रिय सहमतीको निम्ति म्याराथन गर्न आवश्यक रहेको औंल्याउनु भएको छ । 

सामन्तवादको अन्त्यका लागि जनयुद्ध भएको उल्लेख गर्नुहुँदै शर्माले जनयुद्ध र जनआन्दोलन मार्फत जनतालाई सार्वभौम बनाएको दाबी गर्नुभयो । जनयुद्धलाई विभिन्न कालखण्डका आन्दोलनहरुको संश्लेषण गर्ने दिनको रुपमा लिन आग्रह गर्नुहुँदै शर्माले नेपाली समाजवादको बारेमा पार्टीहरु बीचमा सहमती आवश्यक रहेको बताउनुभयो । उहाँले शर्माले संविधानको रक्षा र संघीयताको कार्यान्वयनको बारेमा बहस गर्ने बेलामा सत्ता टिकाउन संख्याको गणना हुनु दुर्भाग्य रहेको बताउनुभयो । ‘सत्ताको म्याराथन गर्ने नेताहरुलाई मेरो सन्देश छ,’ उहाँले भन्नुभयो, ‘सत्ता म्याराथन संख्यामा हैन, एजेण्डामा गरौ, राष्ट्रिय सहमतीमा गरौ ।’

उहाँले को राष्ट्रपति, प्रधानमन्त्रीको अवधी कति भनेर बहस गर्नुभन्दा पनि एजेण्डा र जनतालाई कसरी खुशी बनाउने उपायको बारेमा ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले जनतालाई रोजगारी दिने प्रमुख बाटो श्रमसहकारी भएकोले यसको व्यवस्थापन जरुरी रहेको उल्लेख गर्नुभयो । 

प्राकृतिक रुपले सम्पन्न देशमा गरिब नागरिकहरु हुनुपरेकोले गरिबी अन्त्यको छलफल प्रमुख रहेको उहाँको भनाई रहेको छ । सन्तुलित परराष्ट्र नीति, नागरिकताको समस्या समाधान, राष्ट्रियताको रक्षा, प्राकृतिक स्रोतको प्रयोग, पर्यावरणको रक्षा गर्न प्रमुख आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 

जनताको शासनको पक्षमा जनयुद्ध 

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनयुद्ध जनताको शासनको पक्षमा भएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले जनयुद्ध सामन्तवाद र राजतन्त्रका विरुद्ध भएकोसमेत उल्लेख गर्नुभयो । 

राजतन्त्रले बेलाबेलामा जनतालाई धोका दिएकाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको लागि जनयुद्ध भएको शर्माले जनाउनुभयो । जनयुद्ध र जनआन्दोलनको उपलब्धिहरुको रक्षा वर्तमानको दायित्व भएकोले यो दायित्व पूरा गर्नतर्फ सबै सचेत भएर लाग्न उहाँले आग्रह गर्नुभयो । जनयुद्धमा हतियार उठाउनु बाध्यता भएकोले अब फेरि हतियार उठाउन नपरोस् जनताको चाहना रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।  

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला आउनुभएका शर्माले आफू जनताको कामदारको रुपमा मुख्यन्त्रीको कुर्सीमा पुगेको बताउनुभयो । उहाँले अब आफू जिल्ला–जिल्ला र गाउँमा पुगेर जनताका आवश्यकता बुझ्न लागिपर्ने बताउनुभयो । कर्णाली सरकारले गरिबी र कुसंस्कार अन्त्यको लागि योजना बनाइरहेकोले योजना बनाउन र कार्यान्वयनमा सघाउन उहाँले आग्रह गर्नुभयो । 

गुरिल्ला दौडमा दुर्गा र मञ्जुलाई उपाधी

तत्कालीन जनयुद्धताका माओवादी लडाकुले हिँडेको बाटोमा धावकहरुलाई दौडाएर रुकुममा जनयुद्ध दिवस मनाइएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको ‘पाँचौ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन’ को उपाधी दुर्गाबहादुर बुढा र मञ्जु रावतले हात पारेका छन् । 

रुकुमका बुढाले पुरुषतर्फको ४६ किलोमिटर म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै एक लाख रुपैयाँ राशीको प्रथम पुरस्कार हात पारेका छन् । उनले चार घण्टा ५८ मीनेटको समयमा तोकिएको दूरी पार गरेका हुन् । म्याराथनमा भोजपुरका उमेश राईले पाँच घण्टा चार मीनेटमा निर्धारित दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेका छन् भने रुकुम पश्चिमका अर्जुनकुमार बस्नेतले पाँच घण्टा ११ मीनेटमा उक्त दूरी पार गरेर तेस्रो स्थान प्राप्त गरेका छन् । निर्धारित दूरी पाँच घण्टा २१ मीनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याएका छन् । 

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिएका छन् । प्रतियोगिताको दशौं स्थानसम्म आएका प्रतियोगीहरुलाई जनही तीन हजार रुपैयाँ पुरस्कार दिइएको छ ।  

महिलातर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छन् । उनले निर्धारित ३४ किलोमिटरको दूरीमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै तीन घण्टा २४ मीनेटमा पूरा गरेकी हुन् । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मीनेटमा उक्त दूरी पार गरेर दोस्रो स्थान हासिल गरेकी छन् ।

जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरेकी छन् । उनले तीन घण्टा ४१ मीनेटमा निर्धारित दूरी पार गरेकी हुन् । सुर्खेतकी बिन्दु हमालले तीन घण्टा ४२ मीनेटमा पार गरेर चौथो स्थान प्राप्त गरेको बताइएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरेका धावकहरुलाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारको साथमा पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । महिलातर्फ पनि दशौ स्थानसम्म प्राप्त गर्ने प्रतियोगीहरुलाई जनही तीन हजार पुरस्कार प्रदान गरिएको छ । 

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकीयस्थलको प्रचारको निम्ति गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादी गुरिल्लाहरु हिँडेको बाटोमा धावकलाई दौडाइएको हो । म्याराथनको पाँचौं संस्करणको निम्ति राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपैयाँ लगानी गरेको बताइएको छ ।

टिप्पणीहरू