वनका हाकिमलाई सालक जोगाउने हुटहुटी

वनका हाकिमलाई सालक जोगाउने हुटहुटी

सरकारी हाकिम भन्नासाथ सामान्य मानिसको दिमागमा नकारात्मक सोच आइहाल्छ । सरकारी जागिरबारे नेपालीमा पहिलेदेखि प्रचलित एउटा उखान छ : राजाको काम, कहिले जाला घाम ।

तर, मकवानपुरका एकजना सरकारी हाकिमका पछिल्लो एक वर्षको दौडधूप र तदारुकता देख्दा उक्त उखान सोह्रै आना गलत ठहरिन्छ । उनका गतिविधिले सरकारी कार्यालय पनि यस्तो हुन्छ र ? अनि, सरकारी कर्मचारी पनि यत्तिका मिहिनेती होलान् र ? भन्ने प्रश्न उब्जिन्छ ।

मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्टका अनुयायीसमेत रहेका डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्य त्यस्तैमध्येका एक जना सरकारी कर्मचारी हुन् । मकवानपुरबासी समेत रहेका उनी अहिले मकवानपुरलाई चिनाउने दारको ठेकीको पहिचान घट्दै गइरहेको सन्दर्भमा मकवानपुरमा पाइने लोपोन्मुख वन्यजन्तु सालक (गाउँघरमा सालक माछा पनि भनिन्छ) को संरक्षणमा जुटेका छन् । 

उक्त अभियानमा लागिपरेका आचार्य सालकलाई मकवानपुरको पहिचान बनाउने अभियानमा होमिएका हुन् । मकवानपुरका ६० वटाभन्दा बढी सामुदायिक वनमा पाइने यो जीवले किसानको कुनै पनि हानी नोक्सानी नगर्ने बरु किसानको सारथीको रुपमा रहने गरेका पाइएको छ । तर यहि जीवको दिनानुदिन शिकार भइरहेको सन्दर्भलाई जोडेर अहिले राप्ती डिभिजन वन कार्यालयले सालक संरक्षणमा जोड दिइरहेको छ । आगामी शनिबार पर्ने सालक दिवसलाई तीन दिन लगातार मनाउने तयारी गरिएको छ । कार्यालयले सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा घोषणा गर्ने तयारीसमेत गरेको छ । 

जिल्लाका दुर्गम गाउँबस्तीमा सालक संरक्षणसँगै चिउरी, चमेरो र चेपाङबीचको सम्बन्धलाई आर्थिकोपार्जनसँग जोड्न पहल गरिएको छ । त्यसैगरी मौरीपालन व्यवसायलाईसमेत अघि बढाउनेतर्फ डिभिजन वन कार्यालयका प्रमुख आचार्यले निरन्तर ध्यान दिइरहेको बताए । ‘हाकिम बनेर अफिसमै बसिरहने हो वा वन संरक्षणसँगै वन पैदावारको अधिकतम उपयोग गरी वनबाटै समृद्धि खोज्न भूमिका खेल्ने हो, हामी आफंैले बुझनुपर्ने कुरा हो’, उनले भन्ने । 

आफ्नो कार्यक्षेत्रका अधिकांश सामुदायिक वनमा पुग्ने, दुर्लभ प्रजातिका वनस्पतिहरुको संरक्षण र वृद्धिका लागि भूमिका खेल्ने कार्यमा हाकिम निरन्तर लागिपरेका छन् । मकवानपुरमा हराउँदै गएको र मादल बनाउन प्रयोग हुने छतिवनको रुख, सतिसाल, पौराणिककालीन अशोकको बगैंचा जस्ता वनस्पतिहरुको संरक्षणमा उनले अभियानलाई जोड दिएका हुन् ।

केही समयअघि ‘वातावरण शिक्षा’ नामको पुस्तक प्रकाशन गरी विद्यालय तहमा समेत पाठ्यसामग्रीको रुपमा वितरण गरिएको उनले जानकारी दिए । पछिल्लो समय सालकलाई मकवानपुरको गौरवको जीवको रुपमा घोषणा गर्न राजनीतिक तहबाट पनि पहल गराउने, सालक सम्बन्धी अनुसन्धानहरु गर्ने, स्थानीय सरकारलाई सालक संरक्षणका लागि थप जिम्मेवार बनाउन अनेकौं क्रियाकलापहरु गर्ने गराउने कार्यमा कार्यालय प्रमुख आचार्यको दैनिकी बितिरहेको छ । हालै सालक संरक्षण सम्बन्धी गीत रेकर्ड गरेर आगामी सालक दिवसको सन्दर्भमा सार्बजनिक गर्ने कार्यक्रम रहेको उनले बताए ।

टिप्पणीहरू