भारतीय ठेकेदारको म्यादबारे भारतीय चासो, नेपालको नयाँ हवाई मार्गबारे मौन
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आज पनि बिहानैदेखि भेटघाटमा सक्रिय छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहान १० बजे कोटेश्वर पुगेर भेट थालेका सचिवले त्यसपछि सिंहदरबारमा दुई जना उपप्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उनले उप्रधानमन्त्रीद्वय राजेन्द्र लिङदेन र नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटमा सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका हुन् । जयनगर–कुर्था रेलको निर्माण र सञ्चालन भारतीय कम्पनी केआरसिएलले गर्दै आएको छ । कम्पनीको म्याद सकिन लागेको सम्बन्धमा क्वात्राले नवीकरणबारे चासो राखेका हुन् ।
हिजो बिहानदेखि नेपाल भ्रमणमा रहेका विदेश सचिव क्वात्रासँगको भेटवार्तामा रक्सौल–काठमाडौं रेलवे निर्माणबारे पनि प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग जतिसक्दो छिटो निर्माण सम्बन्धमा पनि चासो राखेका छन् । तर, हिजो परराष्ट्र सचिव र दुई पक्षीय टोलीसँग भएको छुट्टाछुट्नै भेटवार्तामा नेपालले राखेको भैरहवाबाट नेपाल प्रवेश गर्ने नयाँ हवाई मार्गको बारेमा क्वात्राले कुनै जवाफ दिएका थिएनन् ।
टिप्पणीहरू