संसदमा मन्त्रीको खोजी, भित्र–बाहिर गरिरहहेको सभामुखको जानकारी

संसदमा मन्त्रीको खोजी, भित्र–बाहिर गरिरहहेको सभामुखको जानकारी

सरकारको प्रतिनिधिका रुपमा संसद बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य मानिन्छ । आफ्नो मन्त्रालयअन्तर्गतका निकायहरुको कामकारवाही र आमरुपमा उठेका प्रश्नबारे मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, आज बसेको प्रतिनिधिसभा बैठकमा एकजना पनि मन्त्री उपस्थित नहुँदा सांसदहरुले प्रश्न उठाएका छन् । 

बैठकको विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ‘मन्त्री खै’ भनी प्रश्न गरे । घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । त्यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएकोमा सभामुखको ध्यानाकर्षण गराउन खोजेको बताए । 

तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दिपक सिंह उपस्थित रहेको बताउँदा सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए । त्यसक्रममा उनले बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे पनि सभालाई स्मरण गराएका थिए । 

मन्त्रीहरु बाहिर–भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः आउने भन्दै आश्वस्त पार्न खोजेपछि सांसद श्रेष्ठले आफूले ध्यानाकर्षण गराउन मात्र खोजेको बताए ।

टिप्पणीहरू