श्रमिकको लास बेची पैसाको स्वाद !

श्रमिकको लास बेची पैसाको स्वाद !

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आइतबारदेखि ‘नेपाली सिनेमा फेस्ट’ शुरु भएको । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ नारा दिएर गर्न लागिएको यो महोत्सव १५ फेबु्रअरीसम्म चल्नेछ ।

सरकारी निकायले जिटुजी सहकार्यमार्फत कार्यक्रम गर्नुको सट्टा निजी, त्यसैमा विवादास्पद कम्पनीसँग सहकार्य गरेकोमा अनेक प्रश्न उठेका छन् । शुरुमा बोर्डले यो कार्यक्रममा ३ वटा नेपाली फिल्म ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘महापुरुष’ प्रदर्शन गर्ने बताएको थियो । तर, ‘महापुरुष’ निर्माण कम्पनी षड्कोड आर्टस्ले अनुमति नलिई बोर्डले दुबईमा आफ्नो फिल्म प्रदर्शन गर्न लागेकोमा विरोध जनाउँदै बहिष्कार गर्‍यो । र, अब २ वटा फिल्म मात्र प्रर्दशन हुँदैछ । ‘महापुरुष’ टीमको आपत्ति विवादास्पद कम्पनी सूर्य कर्पोरेशन प्राइभेट लिमिटेडसँगको सहकार्यमा पनि थियो ।

विवादमा तानिएपछि नीर साह, विजय लामालगायतका कलाकारले कार्यक्रम बहिष्कार नै गरेका छन् । रोचक कुरा त के भने अध्यक्ष भुवन केसीले आफूखुशी गरेपछि सल्लाहकारसमेत रहेका साहलगायत पाँच जनाले राजीनामा दिएका छन् । 

कार्यक्रमको खर्चमा आशंका, बजेट ३० लाख मात्र

यो कार्यक्रमका लागि ३० लाख रूपैयाँ खर्च छुट्याइएको छ । बोर्डका अनुसार यो कार्यक्रममा ४०भन्दा बढी कलाकार सहभागी छन् । यस्तै, चलचित्र क्षेत्रमा कलम चलाउने केही पत्रकार र अन्य व्यक्तिहरू पनि युएई पुगेका छन् । विवाद बढेपछि बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै योे अवार्ड कार्यक्रममा सूर्य कर्पाेरेशनको व्यवस्थापकीय भूमिका मात्र रहने स्पष्टीकरण दिएको थियो । कलाकारलाई पारिश्रमिक, हवाइ टिकट, होटल, खानालगायत खर्च बोर्डले यही बजेटबाट व्यहोर्ने बताएको छ । 

युएईको बर–दुबईमा ट्राभल सञ्चालन गरेर बसिरहेका एक नेपाली व्यवसायी यो अवार्ड कार्यक्रममा बोर्डले छुट्ट्याएको खर्च देखेर आफू अचम्भित भएको बताउँछन् ।

‘यति ठूलो कार्यक्रम गरिँदै छ । ५ दर्जनभन्दा बढी त अतिथि नै ल्याउने भनिएको छ । बजेट भने मात्र ३० लाख रे,’ उनी भन्छन्, ‘यो कार्यक्रमको खर्च १ करोडभन्दा माथि आउँछ । अरु पैसा कहाँबाट खर्च जुट्छ ? यसबारे छानबिन गर्नुपर्छ ।’ बोर्डले सूर्य कर्पाेरेशनको भूमिका व्यवस्थापकीय मात्र भने पनि उसले नेपालबाट विभिन्न बहानामा करोडौं रकम जम्मा गरेकोे ती व्यवसायीको दाबी छ । जापान, क्यानाडालगायतका देशमा कार्यक्रमको बहाना गरेर मान्छे पठाएको भन्ने कुरा ‘ओपन सेक्रेट’ नै हो,’ ती व्यवसायी दुबईमा पनि यो अवार्डको नाममा मानव तस्करी भएको ठोकुवा गर्दै भन्छन्, ‘सूर्य कर्पाेरेशनले यो कार्यक्रममा पनि कति जनालाई भिजिट भिसा लगाएरमा दुबई ल्याउँदै छ । अध्यागमनमा गएर रेकर्ड हेर्नुहोस् ।’

सूर्य कर्पाेरेशन गायब, ‘एनआरएनए’को ‘इन्ट्री)

अझ रोचक त के भने व्यापक विवादमा तानिएपछि ‘अवार्ड’ कार्यक्रम विफल हुने डरमा बोर्डले अन्तिम समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईलगायत त्यहाँका नेपाली संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम गरेको छ ।

विवाद चुलिएपछि बोर्डले सूर्य कर्पाेरेशनलाई पर्दाबाहिर राखेर एनआरएनएलगायत संघ–संस्थालाई जोडेको कार्यक्रम शुरु गरेको हो । 

श्रेष्ठ र ढुंगानाको व्यापारिक स्वार्थ

बोर्डले कार्यक्रम सफल बनाउन युएईस्थित एनआरएनएलाई पत्रचार गर्दै सहयोग मागेको बताइन्छ । अर्धसरकारी निकायले कार्यक्रम सफल बनाउन आग्रह गरेपछि नेपाली संघ–संस्था सहकार्य गर्न तयार भएको बताइए पनि यो अवार्ड कार्यक्रममा दुई जनाको प्रत्यक्ष स्वार्थ जोडिएको छ । त्यसो त कार्यक्रम गर्न संघ–संस्थाले साथ दिने कि नदिने भन्ने विषयमै विवाद उत्पन्न भएको थियो । पटक–पटक बैठक गरेपछि अन्त्यमा कार्यक्रममा सहयोग गर्ने सहमति भयो ।

‘२ बजेदेखि चलेको बैठक पहिलो पटक साँझसम्म बसेर यत्तिकै टुंगिएको थियो । यो कार्यक्रमलाई लिएर थुप्रै प्रश्न उब्जिएका थिए । पछि भने कार्यक्रम गर्ने सहमति भयो,’ आबुधावीस्थित एक नेपालीको भनाइ छ । अवार्ड गर्न एनआरएनएका मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले व्यापक दवाव दिएको बताइन्छ । श्रेष्ठ आफैले नेपाल आएर बोर्डका प्रतिनिधिसँग छलफल गरी चाँजोपाँजो मिलाएको स्रोतको दावी छ ।

श्रेष्ठले यसमा युएईका अध्यक्ष ठाकुर ढुंगानालाई व्यापारिक लोभ देखाएका थिए । ढुंगाना दुबई ट्राभल व्यवसायमा संलग्न छन् । दुबई जाने कलाकारको भिसा, टिकटलगायत सबै व्यवस्था ढुंगानाले नै गरेको बताइन्छ । 

‘श्रमिकको लासमा राजनीति’

यो कार्यक्रममा बेचिएका टिकटबाट हुने आम्दानीको ९० प्रतिशत संयुक्त राहत कोषमा राख्ने र युएईमा अलपत्र परेका श्रमिकको शव नेपाल ल्याउने भनिएको छ । तर, यो केवल राजनीति मात्र हो । अहिले युएईमा नेपाली संघ–संस्थाले ‘शव नेपाल पठाउन’ भन्दै सांस्कृतिक कार्यक्रम गर्ने प्रवृत्ति बढेको छ । यसअघि दुर्गा प्रसाईँ र उनका युएईस्थित कार्यकर्ताले पनि यस्तै तरिका अपनाएका थिए ।

विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउने दायित्व सरकारको हो । वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा दूतावासले शव पठाउँदै आएको छ ।‘आफ्नो नागरिक विदेशमा मर्‍यो भने देश फर्काउने जिम्मा राज्यको हो । ढिलो चाँडो प्रक्रिया पूरा गरेर दूतावासले यहाँबाट शव पठाइरहेको छ । अहिलेसम्म नेपालीको शव अलपत्र परेर यता यत्तिकै फालिएको छ जस्तो मलाई लाग्दैन,’ आवुधावीस्थित दूतावास स्रोत भन्छ, ‘शव सबै समाजसेवीले पठाउने भए दूतावासका कर्मचारीले अफिस बन्द गरेर नेपाल फर्किए भयो नि !’ 

टिप्पणीहरू