नेविसंघको लेटरहेड दुरुपयोग गर्नेमाथि कारबाहीको चेतावनी

नेविसंघको लेटरहेड दुरुपयोग गर्नेमाथि कारबाहीको चेतावनी

नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आन्तरिक विवाद चर्किंदै जाँदा लेटरहेड किर्ते गर्नेसम्मका लफडा बाहिरिएको छ । संघको नक्कली लेटरहेड बनाएर केही सदस्यहरुले स्ववियु निर्वाचन केन्द्रित गतिविधि गरेको भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेपछि लफडा सार्वजनिक भएको हो । 

अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघका मुख्य सचिव विजय खड्काले आज विज्ञप्ति जारी गर्दै लेटरहेड दुरुपयोग भएको गुनासो बढेकाले अनुशासन उल्लंघन नगर्न भनेका छन् । संस्थाको गरिमामा आँच आउने गतिविधि तत्काल रोक्न  र संस्थाको  भावनाविपरीत भएका अवाञ्छित गतिविधि तत्काल रोक्न विज्ञप्तिमा भनिएको छ । अन्यथा, त्यस्ता गतिविधिमा संलग्नहरुमाथि कारवाही गर्ने खड्काको चेतावनी छ । 

नेविसंघले स्ववियु निर्वाचनलाई लक्षित गरी विभिन्न समिति तथा संयोजकहरूको तोकेको छ । जसमा स्ववियु घोषणापत्र समितिको संयोजकमा पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्व र स्ववियु प्रशिक्षण समिति संयोजकमा अर्का पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल रहेकी छन् । त्यस्तै, प्रचारप्रसार समिति संयोजकमा सन्तोष उपाध्याय, विद्यार्थी संगठन समन्वय समितिको संयोजकमा दिनेश शाही र स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा समन्वय संयोजकमा उज्ज्वल बज्राचार्य रहेका छन् ।

तर, यी बाहेक नेविसंघका नाममा नक्कली लेटरहेड बनाई स्ववियु केन्द्रित गतिविधि र व्यक्तिका नाममा विभिन्न समिति बनेको कुरा सामाजिक सञ्जालमा देखिएको र त्यस सम्बन्धमा संघको केन्द्रीय कार्यालयमा उजुरी आएपछि मुख्य सचिव खड्काले विज्ञप्ति निकालेर यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएका हुन् ।

खड्काले नेविसंघ सांगठनिक पूर्णतालगायत विषयमा लामो समयदेखि संघर्षरत रहेको बताउँदै संघलाई विद्यार्थीमाझ जान स्ववियु निर्वाचन महत्वपूर्ण अवसर भएको बताए । त्यसैले, संगठनभित्रै फरक मत राख्न उनले आह्वानसमेत गरेका छन् ।
 

टिप्पणीहरू