अरुका सांसद गन्ने रविको पार्टी आफ्नाबारे बेखबर
राजनीतिप्रति जनतामा तीव्र वितृष्णा छ । नयाँ भनिएकाहरु पनि ‘भाइरल राजनीति’ मा रमाउन थालेपछि जनता भन्न थालेका छन्– जुन जोगी आए पनि कानै चिरेको । यसको पछिल्लो उदाहरण बनेको छ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।
शुसासन र राजनीतिक शुद्धिकरणको नारा दिएर छोटो समयमै अप्रत्याशित शक्ति हासिल गरेर सत्तामा उक्लिएको रास्वपाले पुराना पार्टीहरुभन्दा आफूलाई पृथक दाबी गर्ने गरेको छ । उक्त पार्टीका नेता तथा सांसदहरुले मुख्यतः शुसासन र राजनीतिक नैतिकताको वकालत गर्ने गर्छन् । तर, उनीहरुका अभिव्यक्ति र कार्यशैली भने आफैँ प्रश्नै प्रश्नको घेरामा पर्न थालेका छन् ।
सर्वोच्च अदालतले आफ्नो नागरिकता अवैधानिक ठहर गरेपछि एकाएक गैरसांसद भएका सभापति लामिछानेले पुनः सत्तामा पुग्न गरेको अस्वाभाविक जोडबलले वैकल्पिक राजनीतिको वकालत गर्नेहरुलाई लज्जित तुल्यायो । दोहोरो राहदानी लिएको आरोप बोकेरै तालुकदार मन्त्रालयको नेतृत्वमा जाने उनको प्रयास अनैतिकताको पराकाष्ठा थियो, जुनकुरा विगतमा उनी आफैँ भन्ने गर्थे । लामिछानेको पछिल्लो पत्रकार सम्मेलनमा उनको प्रस्तुती, भाषा शैली र सञ्चार जगतमाथि उठाएका प्रश्न झन् धेरै विवादित छन् ।
त्यतिमात्र होइन, संसद बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिको विषयलाई विगतमा जोडदार रुपमा उठाउँदै त्यसलाई सुशासन र उत्तरदायित्वको प्रश्न बनाउने रास्वपाका सांसदहरु अहिले आफैं संसद छोडेर निजी भ्रमणमा रमाउन थालेका छन् । हिजोमात्रै प्रतिनिधिसभा बैठकमा पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले यसबारे जोडतोडका साथ् प्रश्न उठाएका थिए । तर, उनले अरुमाथि त्यसरी प्रश्न गरिरहँदा उनकै दलका दुई माननीय भने कर्णालीमा फोटो खिचाइरहेका थिए ।
पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालसँगै गतसाता कर्णाली घुम्न निस्किएका सांसदद्वय निशा डाँगी र बिनिता कठायत अझै उतै छन् । कालिकोटको रास्कोट घुमेर हिजो सुर्खेत आइपुगेका उनीहरु कुन प्रयोजनका लागि त्यहाँ गएका हुन् खुलेको छैन । तर, प्रतिनिधिसभा बैठक नै ‘बंक’ गरेर घुम्न गएका यी दुई त्यस क्षेत्रका सांसद भने होइनन् ।
त्यसो त, पूर्वपत्रकार समेत रहेका यी दुईलाई माननीय बनाउने विषयले त्यतिबेला रास्वपामा चर्को विवादसमेत भएको थियो । झापा स्थायी घर भएकी सांसद डाँगी रास्वपा स्थापनापछि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् । राजनीतिमा प्रवेश गरेको वर्ष दिन नपुग्दै सांसद बन्न सफल डाँगी प्रवक्ता ढकालनिकट मानिन्छिन् । उनी ढकाल सञ्चालक रहेको स्वास्थ्य म्यागजिनमा काम गर्थिन् । डाँगीलाई सांसद बनाउन ढकालले निकै जोड गरेको त्यतिबेला पनि चर्चा भएको थियो ।
त्यस्तै, समानुपातिकबाटै चुनिएकी कठायत जुम्लाकी हुन् । उनी रवि लामिछानेसँगै न्युज २४ हुँदै ग्यालेक्सी टेलिभिजनमा काम गर्थिन् । त्यहि सम्बन्धले कठायतलाई समानुपातिक सांसद बनाइएको भन्दै रास्वपाका केही नेताहरुले त्यतिबेलै असन्तुष्टी जनाएका थिए ।
टिप्पणीहरू