ओलीलाई भेटेर निस्केपछि प्रचण्डले भन्नुभो, 'हामी एकै ठाउँमा छौँ !'

ओलीलाई भेटेर निस्केपछि प्रचण्डले भन्नुभो, 'हामी एकै ठाउँमा छौँ !'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नभत्किने र सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुने बताउनुभएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट बाहिरिनेक्रममा उहाँले राष्ट्रपतिमा गठबन्धन दलबीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै सहकार्य नटुट्ने बताउनुभएको हो । राष्ट्रपतिबारे एक-दुई दिनमै सहमति हुने पनि प्रचण्डको भनाई छ । 

‘हामी एकै ठाउँमा छौँ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १-२ दिनमा सहमतिमै टुंगो लाग्छ’, उहाँले भन्नुभयो । भावी राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादीबीच अविश्वास चुलिएको चर्चा भैरहेका बेला प्रचण्डको यस्तो भनाई आएको हो ।

राष्ट्रपतिको उम्मेदवारका सम्बन्धमा दुई दलबीच एकमत हुन् नसकिरहेका बेला त्यसैबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ओली निवास बालकोट पुग्नुभएको थियो । सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अडान राख्दै आएको छ ।

टिप्पणीहरू