विपक्षीको हैसियतबारे वकिल राखेर सोधखोज गर्दै नेपाली काँग्रेस
सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमाथि उठेको कानुनी प्रश्नका सम्बन्धमा वरिष्ठ कानुन व्यवसायीहरुसँग राय–परामर्श लिएको छ ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा काँग्रेस नेता तथा दलका प्रमुख सचेतक रमेश लेखकले वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण विडारीलगायत एक दर्जन कानुनविद्सँग उक्त विषयमा छलफल गरेका हुन् ।
लेखकको आग्रहमा सल्लाह दिन दिउँसो पौने २ बजे सिंहदरबार पुगेका वकिलहरू करिब आधा घण्टा छलफल गरेर निस्किएका थिए । छलफलको क्रममा काँग्रेसलाई विपक्षी दलको हैसियत दिन नहुने मागदाबी गर्दै सर्वाेच्च अदालतमा परेको रिटका सम्बन्धमा छलफल भएको बताइएको छ ।
काँग्रेस सभापति तथा दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा राज्यले उपलब्ध गराउने सेवा, सुविधा नदिन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध अदालतमा परेको मुद्दा विचाराधीन छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस प्रतिनिधि सभामा विपक्षी बेञ्चमा बसेको छ । नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गरेको दलले प्रमुख प्रतिपक्षी दलको हैसियत नपाउने दाबी गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । तर,सचिवालयले देउवालाई प्रतिपक्ष दलको नेता स्वीकार गरिसकेको छ ।
टिप्पणीहरू