राष्ट्रपतिद्वारा ३९५ जना कैदीबन्दीको सजाय माफी, उज्जनको हत्यामा संलग्न गौतमसमेत छुट्ने
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३९५ जना कैदीबन्दीको सजाय माफी भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकको सिफारिसका आधारमा पर्सिदेखि लागू हुने गरी ती कैदीबन्दीको सजाय माफी भएको बताइएको छ ।
विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी गरिएको हो ।
त्यसैगरी राष्ट्रपतिबाट मन्त्रिपरिषद्को हिजैको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिलाई पनि माफी दिइएको छ । विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम उनीहरुमाथि लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसको उपलक्ष्यमा माफी गरिएको हो ।
गौतम २०५५ सालमा ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ हत्यामा संलग्न मध्येका एक हुन् । उनीविरुद्धको मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्चले समेत गौतमलाई दोषी ठहर गरेको छ ।
टिप्पणीहरू