प्रजातन्त्र दिवसअघि राष्ट्रपतिको व्यस्तता : बिहान टुँडिखेल, साँझ पशुपति
महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पशुपतिनाथको पूजा आरधना गर्नुभएको छ । सो क्रममा उहाँले मन्दिरका मूल भट्टबाट प्रसाद ग्रहण गर्नुभएको बताइएको छ ।
राष्ट्रपति भण्डारीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, सदस्यसचिव डा. मिलनकुमार थापालगायत पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।
आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारी २६०औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको थियो ।राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गरेपछि नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभएको थिगयो ।
उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरेलगायत उच्चपदस्थ अधिकारी र कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो ।
टिप्पणीहरू