जेल पुगेका सांसद अबिर जात्रा गर्दै निस्किए

जेल पुगेका सांसद अबिर जात्रा गर्दै निस्किए

नागरिक उन्मुक्ति पार्टीका निलम्बित सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट निस्किएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी अबिर र माला लगाएर जेलबाट निस्किएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अपलक्ष्यमा चौधरीसहित ३९५ जना कैदीको सजाय माफी गरेपछि उनी आज जेलमुक्त भएका हुन् । उनलाई स्वागत गर्न पार्टी अध्यक्ष रञ्जिता चौधरी र समर्थकहरु पुगेका थिए ।

उनीमाथि २०६६ भदौ ३ गते लम्कीको धोबेनी खोला नजिकै एउटा ट्याक्टर जलाएको आरोप लागेको थियो । सोही आरोपमा कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते सांसद अरुणसहित तीन जनालाई ६ महिना कैद र बिगो वापत आठ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

तर, चौधरी पाँच वर्षअघि लम्कीचुहा नगरपालिकाको चुनावमा प्रमुख र पछि प्रदेश सभा सदस्यको उम्मेदवार भएका थिए । प्रहरीको फरार सूचीमा रहेका उनी दुई साताअघि बाँकेको कोहलपुरमा पक्राउ परेपछि फैसलाबमोजम कैद भुक्तानीको निम्ति जेल पठाइएको हो ।

उनले दायर गरेको परमादेश तथा बन्दी प्रत्यक्षीकरणको मुद्दा भने अहिले पनि उच्च अदालत दिपायलमा विचाराधीन छ ।

टिप्पणीहरू