पार्टी अध्यक्षको गृहनगरमा एमाले उपाध्यक्षको उद्घोष : नेताहरुमा ठेकेदारी प्रथा कायम

पार्टी अध्यक्षको गृहनगरमा एमाले उपाध्यक्षको उद्घोष : नेताहरुमा ठेकेदारी प्रथा कायम

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेको बताउनुभएको छ । उहाँले दलका नेताहरुमा देखिएको उक्त मनोवृत्तिले जनचाहनाबमोजिमका कार्य गर्न नसकिएको दाबी गर्नुभएको छ ।

एमालेले थालेको ‘मिसन ग्रास रुट’ अभियानको प्रदेश नम्बर १ मा शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘अपेक्षाकृत जनताको पक्षमा काम हुन सकेको छैन ।’ झापाको दमकमा बोल्दै उहाँले पार्टीभित्र ठेकेदारी प्रथा रहेको धारणा राख्नुभएको हो ।

उहाँले केही नेताले आफूलाई सहज बनाउन कार्यकर्ताले तिर्नुपर्ने पार्टीको लेबी समेत आफैँ तिरिदिने गरेको रहस्योद्घाटन गर्नुभएको छ । त्यसो गर्दा कार्यकर्तालाई दबाएर राख्न सकिने र उनीहरुले प्रतिवाद नगर्ने सहज बाटो अपनाउने गरिएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी आन्दोलनको जगमा सरकारमा पुग्यौँ, तर जनताको विषयमा अपेक्षाकृत काम गर्न सकेनौं । समग्रमा राजनीतिमा इमान्दारिता हराउँदै गएको छ ।’

टिप्पणीहरू