सत्ता गठबन्धनको छिनोफानो आउँदो साता : माधवकुमार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको भविश्य यो साताभित्र टुंगो लाग्ने दाबी गर्नुभएको छ । आज पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठक उद्घाटन समारोहमा बोल्दै उहाँले सत्ता गठबन्धन रहने, नरहने यो साताभित्र छिनोफानो भसक्ने बताउनुभएको हो । 

गठबन्धनमा संविधानविरोधी र पक्षपातीहरु एकै ठाउँमा रहेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गठजोड लामो समय नटिक्ने तर्क गर्नुभयो । गठबन्धनमा अहिले देखिएको अविश्वास राष्ट्रपतिको चुनावसम्म पुग्दा टुङ्गो लाग्ने उहाँको भनाइ छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ । त्यसतर्फ संकेत गर्दै नेपालले गठबन्धनको म्याद एक साता तोक्नुभएको हो ।

‘कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भन्नुभयो, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ ।’

नेपाली काँग्रेसले सबै पद आफैंले राख्न खोज्दा तत्कालिन पाँचदलीय गठबन्धन भत्किएको, संविधान विरोधी र त्यसका पक्षधर शक्ति एकै ठाउँमा उभिने परिस्थिति बनेको अध्यक्ष नेपालको बुझाइ छ । तर, अहिलेको गठबन्धनमा पनि सत्तास्वार्थ देखिएकाले कुनै पनि बेला टुट्न सक्ने उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सत्तालिप्साका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको उहाँको ठहर छ ।  

‘काँग्रेसमा सारा पद आफंैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो । यसले समस्या पर्यो । तर अहिले हामीले त्यहाँ देख्यौं । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि जनताले देखिसके, अदालतले मुद्दा लगायो । पदबाट हटे । तर पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ ।’
 

टिप्पणीहरू