पूर्व अर्थमन्त्रीको विकास : कतै खातैखात, कसैकाे पुर्पुरोमा हात

पूर्व अर्थमन्त्रीको विकास : कतै खातैखात, कसैकाे पुर्पुरोमा हात

मुलुकको विकास भनेको के हो ? विकास कस्तो हुनुपर्छ ? यो अहिले हाम्रो सन्दर्भमा सबैभन्दा गम्भीर विषय बनेको छ । जनता र स्थानीयको आवश्यकता हेरेर विकास गरिनुपर्दछ । यद्यपि, नेपालमा विकासको अवस्था हेर्दा कतै खातैखात, कतै पुर्पुरोमा हात भनेझैँ देखिन्छ ।

आवश्यकताको सट्टा लोकप्रियतालाई ध्यानमा राखेर विकास गर्ने गरिएको पाइएको छ । यस्तै अवस्था जाजरकोटको नलगाड नगरपालिका र रुकुमको आठविस्कोट नगरपालिकामा देखिएको छ । नेपालको पूरानो रोग र आरोप छ ः जो मन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याउँछ  । सस्तो लोकप्रियतका लागि खाँचो नभए पनि विकासको मूल फुटाउन खोजिएको पाइन्छ । 

कतै एउटा सामान्य झोलुङ्गे पुलको अभावमा सर्वसाधारण तुइनमा झुण्डिएर नदी वारपार गर्नुपर्ने बाध्यता छ । विकट जिल्लाका जनताले बाह्रैमास जोखिम मोलेर तुइनबाट नदी तरिरहेका छन् । स्कुुले बालबालिका, ज्येष्ठ नागरिकलाई तुइन र जीर्ण झोलुङ्गे पुल तर्न निकै सास्ती हुन्छ । 

तुइनबाट खसेर अहिलेसम्म धेरैको ज्यान गइसकेको छ । विडम्बना, सरकारले यस्तो गम्भीर विषयमा ध्यान दिएको देखिँदैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो । तर, अहिलेसम्म पनि धेरै ठाउँमा सर्वसाधारणको निम्ति नदी तर्ने एक मात्र विकल्प तुइन बनेको छ ।

उनीहरुको जिन्दगी नै तुइनबाट नदी वारपार गर्दैमा बित्न थालेको छ । कुनै ठाउँमा झोलुङ्गे पुल नभएर सास्ती छ भने कहिँ एकै ठाउँमा दुई वटासम्म पुल ठड्याइएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले एकै ठाउँमा दुइ वटा पुल बनाउने घोषणा गरेका थिए । पत्रकार रविन्द्र शाहीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गर्दै केही दिनअघि लेखेका थिए, ‘कमरेड जनार्दन शर्माको विकास ! माथि मोटरपुल, तल झोलुङ्गे पुल । दुवै निर्माणाधीन !!’ 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो स्टाटसमा कमेण्ट गर्दै लेखेका छन्,‘नेपालको अर्थतन्त्र क्षतविक्षत बनाउने धनार्जनले कमिशनका लागि के गरेनन् ।’ त्यस्तै, अर्कोले भनेका छन्, ‘पुल चाहिएको ठाउँ नै नभएर होला, सायद ।’ नेपालमा यस्ता धेरै ठाउँ छन् जहाँ एउटा पनि पुल बन्न सकेको छैन । 

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ मनमईंमा झोलुङ्गे पुल बनाउन पिल्लर ठड्याइएको छ । त्यसको झण्डै एक सय ४० मीटर पर रुकुमको आठविस्कोट नगरपालिका पर्दछ । पूर्व अर्थमन्त्री शर्माको पालामा मोटरपुल बनाउनका लागि बजेट छुट्याइएको थियो । 

आठविस्कोट नगरपालिकाका यसअघिका नगरप्रमुख गोरखबहादुर केसी उनकै ज्वाईं भएकाले त्यहाँ मोटरपुल बनाउने काम अघि बढाइएको थियो । काम शुरु भएको वषौं बितिसक्दा पनि उक्त पुलको निर्माण सम्पन्न भएको छैन । 

उक्त पुलको जग खनिएको जग्गाको वरपर पूर्वमन्त्री जनार्दनका ज्वाईं केसीको धेरै जग्गा रहेकाले त्यहाँको चहलपहललाई ध्यानमा राखेर पुल निर्माण थालिएको स्रोतको भनाइ छ । 

जाजरकोट र रुकुममा अझैपनि यस्ता धेरै ठाउँ छन्, जहाँ पुल छैन । भएका झोलुङ्गे पुल पनि सबै जीर्ण भइसकेका छन् । त्यसको मर्मततर्फ कसैको ध्यान गएको छैन । बरु, एकै ठाउँमा विकासको थुप्रो लगाउनेतर्फ धेरैले आँखा लगाउनुलाई अचम्म मानिएको छ । 

नलगाड नगरपालिका ८ का वडाध्यक्ष तेजबहादुर सिंह दुबै पुलको निर्माण अलपत्र परेको बताउँछन् । पिल्लर ठड्याउनेबाहेक अरु कुनै काम हुन नसकेको उनको भनाइ छ । ‘भएका पनि सबै जीर्ण भइसकेका छन् । ओहोरदोहोर गर्न डरमर्दो छ । यसअघि नै पुल निर्माण गर्न थालिएको हो । अहिलेसम्म पिल्लर हाल्नेबाहेक अरु कुनै काम अघि बढ्न सकेको छैन’, उनले भने ।

टिप्पणीहरू