कोरियाली प्रायद्विपमा तनाव, दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई अभ्यास

कोरियाली प्रायद्विपमा तनाव, दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई अभ्यास

कोरियाली प्रायद्विपमा पछिल्लो २४ घण्टामा तनाव बढेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई सैन्य अभ्यास गरेपछि एकाएक तनाव बढेको बताइएको छ ।

उत्तर कोरियाले हिजो अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेपछि दक्षिण कोरिया र अमेरिकाले आज संयुक्त हवाई सैन्य अभ्यास थालेका छन् । अभ्यासमा लडाकु तथा बम–वर्षक विमान प्रयोग गरिएको बताइएको छ । 

उत्तर कोरियाले अन्तर–महादेशीय क्षेप्यास्त्र आई–सी–बी–एम–को परीक्षण गरेको जानकारी हिजै दिएको थियो । उक्त क्षेप्यास्त्रले झण्डै एक घण्टामा नौ सय किलोमिटरको दूरी पार गर्नसक्ने जनाइएको छ । परीक्षणको क्रममा क्षेप्यास्त्र जापान नजिकैको समुद्रमा खसेको उत्तर कोरियाको दाबी छ । अमेरिका र दक्षिण कोरियालगायत शत्रु राष्ट्रको प्रतिकार गर्न आफू सक्षम रहेको पोङ्याङको भनाइ छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले विज्ञप्तिमा आफनो मुलुकविरुद्ध गरिने कुनै पनि शत्रुतापूर्ण कार्यको कठोर र सशक्त जवाफ दिइने चेतावनी दिएकी छन् । संयुक्त हवाई सैन्य अभ्यास गरेर अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको सामना गर्न आफूहरु तयार रहेको सन्देश दिइएको पश्चिमा सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू