राष्ट्रपति निर्वाचनमा पार्टी अडानबारे माओवादी बैठकमा प्रचण्डको यस्तो व्याख्या
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वस्तुगत आवश्यकताले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेको बताउनुभएको छ । सोमबार पोखराको लेखनाथमा पार्टीको गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुक अप्ठेरो अवस्थामा रहेकाले प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने परिस्थिति बनेको बताउनुभएको हो ।
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेलामा एक ठाउँ उभिएका शक्तिहरू पुनः एकै ठाउँमा उभिनुपर्ने आवश्यकतामाथि जोड दिँदै त्यसले मात्रै मुलुकको विद्यमान समस्या समाधान गर्ने दाबी पनि गर्नुभयो ।
‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्ने आवश्यकता बोध गरेर माओवादीले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति चाहेको पनि प्रचण्डको भनाइ छ । ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’
टिप्पणीहरू