पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको प्रतिवाद गर्न समाजवादीको आह्वान
नेकपा एकीकृत समाजवादीले राजनीतिक पार्टी र राजसंस्थाबीच सहकार्य गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्ताव आपत्तिजनक रहेको टिप्पणी गरेको छ । अध्यक्ष माधवकुमार नेपालले आज विज्ञप्ति जारी गर्दै शाहको प्रस्ताव गणतान्त्रिक व्यवस्थाविरुद्ध रहेकाले सामूहिक प्रतिवाद गर्न दलहरुलाई आह्वानसमेत गर्नुभएको छ ।
पूर्वराजा शाहले हिजो प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य सार्वजनिक गरी सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो । त्यसप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बाहेकका अन्य दलका नेताहरुका व्यक्तिगत असन्तुष्टी सार्वजनिक भए पनि संस्थागतरुपमा कुनै प्रतिक्रिया आएको छैन । समाजवादीले भने औपचारिकरुपमै त्यसको प्रतिवाद गर्दै लोकतान्त्रिक गणतन्त्रविरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य भनेको छ ।
‘नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकेको र अहिले कोहीपनि ‘श्री ५ महाराजधिराज’ नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको सर्वविदितै छ’, अध्यक्ष नेपालले भन्नुभएको छ, ‘उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति जसरी लाञ्छना लगाइएको छ, त्यो आपत्तिजनक छ ।’
समाजवादीले राजतन्त्रकालका गल्ति ढाकछोप गर्न पूर्वराजाले राजनीतिक दलहरुप्रति नकारात्मक अभिव्यक्ति दिएको पनि बताएको छ । ‘केही दिनअघि झापाबाट शुरु भएको गणतन्त्रविरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक–पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसंगलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बुल्नु सरासर गल्ति हो’, अध्यक्ष नेपालको भनाइ छ ।
टिप्पणीहरू