राष्ट्रपतिको चुनावमा भोट हाल्ने ८८१ जनाको नाम सार्वजनिक

राष्ट्रपतिको चुनावमा भोट हाल्ने ८८१ जनाको नाम सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ । 

फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका दुबै सदनका ३३१ र प्रदेश सभाका ५५० जनागरी ८८१ मतदाताको नाम आयोगले आज सार्वजनिक गरेको हो । मतदाता नामावलीमा प्रहरीको फरार सूचीमा रहेका एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीको नाम पनि समावेश छ । उनीमाथि व्यक्ति हत्याको आरोपमा अदालतमा मुद्दा विचाराधीन छ । 

मतदाता नामावलीको दाबी विरोधको उजुरी आज बिहान ११ बजेदेखि भोलि मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । दाबी विरोधको उजुरीमाथि पर्सि अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । 

राष्ट्रपतिका लागि आगामी शनिबार मनोनयन दर्ता र फागुन २५ गते मतदान हुनेछ । त्यस्तै, चैत ३ गते तोकिएको उपराष्ट्रपतिको चुनावका लागि फागुन २७ गते मनोनयन दर्ताको कार्यसूची छ ।  

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता रहने छन् । उनीहरुको छुट्टाछुट्टै मतभार तोकिएको छ ।

टिप्पणीहरू