कलंकीबाट हिँडेको उपप्रधानमन्त्रीको टोलीद्वारा बसुन्धरामा चियापान
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलगायतको टोलीले आज बिहान चक्रपथको बिस्तार हुन बाँकी खण्डको निरीक्षण गरेको छ । कलंकीदेखि चाबहिलसम्मको खण्डमा लामो समयदेखि निर्माणकार्य प्रारम्भ हुन नसकेपछि उच्चस्तरीय टोली चक्रपथको पश्चिम भागको स्थलगत निरीक्षणमा जुटेको हो ।
कलंकीदेखि स्वयम्भू, बालाजु, गोंगबु, महाराजगञ्ज हुँदै चाबहिल खण्डको निर्माण कार्य तत्काल थाल्न आज उच्चस्तरीय टोली त्यहाँ गएको बताइएको छ । स्थलगत निरीक्षणमा गएको टोलीमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन साह, सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत छन् ।
टोलीले चक्रपथ बिस्तारमा उत्पन्न हुने समस्या र हालको अप्ठेराबारे स्थलगत जानकारी लिएको बताइएको छ । चक्रपथको उक्त खण्ड चीन सरकारको सहयोगमा पुनर्निमाण गर्न लागिएको हो । स्थलगत निरीक्षणको क्रममा टोलीले बसुन्धरा पुगेर चियापान गरेको हो । स्थानीय दियालो फुडल्याण्डमा मन्त्रीदेखि राजदूत, मेयरदेखि सचिवसम्म सबैले दियालोमा चियापान गरेका हुन् ।
यसअघि कोटेश्वरदेखि कलंकीसम्मको खण्ड पनि चीनको सहयोगमा बनेको हो । ५१ वर्षअघि काठमाडौंको २७ किलोमीटर लामो चक्रपथ चीन सरकारको सहयोगमा बनेको हो ।
टिप्पणीहरू