जनयुद्ध दिवस मनाएकोमा रिसाउनुभएका ओलीले भन्नुभो– प्रचण्डले काँग्रेसलाई समर्थन गर्नै मिल्दैन
नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने चर्चा र त्यसअनुरुपका भेटघाट बढिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो हुनै नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
आफ्नो जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा उहाँले प्रचण्डले काँग्रेसलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्दै पुस १० को सहमतिअनुसार गर्नै नहुने दाबी पनि गर्नुभयो । ‘उहाँले (प्रचण्ड) ले काँग्रेसलाई सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ’, अध्यक्ष ओलीले भन्नुभयो ।
त्यसअघि सोही कार्यक्रममा ओलीले जनयुद्ध दिवसको अवसरमा बिदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाउनुभएको थियो । जनयुद्धलाई हिंसा भन्नुभएका उहाँले त्यसप्रति गर्व गर्न नसकिने भन्दै राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय ठिक नभएको बताउनुभयो ।
यता, आजै साँझ तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्दैछ भने त्यसअघि माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त छलफल हुँदैछ । दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
टिप्पणीहरू