एनसीसी तालिमको दीक्षान्त कवाज सम्पन्न

एनसीसी तालिमको दीक्षान्त कवाज सम्पन्न

राष्ट्रिय सेवा दल (एनसीसी) द्वारा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 

सैनिक मञ्ज टुँडिखेलमा आयोजित समारोहमा ५ सय ७६ क्याडेट छात्रछात्रा तालिम पूरा गरी दीक्षित भएकोमा सर्वोत्कृष्ट क्याडेटलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले नैतिकवान, क्षमतावान र देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापित एनसीसी तालिम सफलतापूर्वक सम्पन्न गरेका छात्रछात्रालाई बधाई पनि दिनुभयो ।

तालिमले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

साथै, सोही अवसरमा राष्ट्रिय सेवा दल (एनसीसी) का कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले एनसीसीको वार्षिक प्रतिवेदन पेश गरेका छन् । समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सहसंरक्षकद्वय रक्षामन्त्री र प्रधान सेनापतिले दीक्षित क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति महारथी पशुराम शर्मा, जनप्रतिनिधि, अन्य सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा भारत, माल्दिभ्स र पाकिस्तानबाट आएका स्टाफ अधिकृत र समन्वय अधिकृत तथा क्याडेटसमेत उपस्थिति रहेको जनाइएको छ ।


 

टिप्पणीहरू