पोथी खोज्दै हिँडेको हात्तीलाई तत्काल नियन्त्रणमा लिन सांसदको माग

पोथी खोज्दै हिँडेको हात्तीलाई तत्काल नियन्त्रणमा लिन सांसदको माग

नेकपा एमालेका सांसद महेशकुमार बर्ताैलाले मकवानपुरमा केही दिनदेखि आतंक फैलाएको हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन् । सांसद बर्तौलाले एमगज नाम दिइएको हात्तीलाई तत्काल नियन्त्रणमा लिएर स्थानीयको बाँच्न पाउने अधिकार सुरक्षित गर्न आग्रह गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त हात्तीको आक्रमणबाट केही दिनअघि मारिएकी मनहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन् ।

पछिल्लो एक सातादेखि मकवानपुरको विभिन्न स्थानमा पोथी खोज्दै हिँडेको एमगज हात्तीले बितण्डा मच्चाएपछि सांसदले उक्त माग गरेका हुन् । वन विभाग र राष्ट्रिय निकञ्जका कर्मचारीहरुले हात्ती नियन्त्रणमा लिन हालसम्म सकारात्मक भूमिका नखेलेकोमा पनि उनले आपत्ति जनाएका छन् ।

उनले भने, ‘सम्माननीय सभामुख महोदयमार्फत् सरकारलाई भन्न चाहन्छु, अविलम्ब त्यस हात्तीलाई नियन्त्रण लिएर मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् ।’

टिप्पणीहरू