राष्ट्रपतिको चुनावमा भोट हाल्ने नहाल्नेबारे राप्रपा अनिर्णित
राजतन्त्रको पक्षमा वकालत गर्दै आएको सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेमा अनिर्णित बनेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय नगरेको हो ।
बैठकले राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक भने नबस्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
भोलि राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । साथै राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा भने उपयुक्त समयमा बैठक बसेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीको लाइन, समसामयिक राजनीतिको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको थियो । बैठकमा पूर्वअध्यक्ष डा.प्रकाश चन्द्र लोहनी, सहरी विकास मन्त्रीसमेत रहेका उपाध्यक्ष विक्रम पाण्डे ,उर्जा तथा जलश्रोत राज्यमन्त्री दिपक बहादुर सिंह, पूर्वगृहमन्त्री एवं उपाध्यक्ष बुद्विमान तामाङ, उपाध्यक्ष रविन्द्र मिश्रलगायत तीन दर्जन नेताको उपस्थिति थियो ।
टिप्पणीहरू