राष्ट्रपतिका उम्मेदवारको चर्चामा एउटै समुदायको एकछत्र, पुरानो गठबन्धनमा अरु दलको सहभागिता
फागुन २५ गते राष्ट्रपति निर्वाचनको निम्ति भोलि उम्मेदवार मनोनयनको चुनावी तालिका छ । ठूला र मुख्य राजनीतिक दलहरु राष्ट्रपति आफ्नो पोल्टामा पार्न अनेक जोड घटाउमा लागेको पनि झण्डै डेढ महिना भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेदेखि उक्त जोड घटाउको औपचारिक प्रारम्भ भएको हो । त्यसमा पुस २६ गते नेपाली काँग्रेसले दाहाल नेतत्वको सरकारलाई विश्वासको मत दिएपछि उक्त जोड घटाउमा नयाँ परिदृश्य र खेल देखिएको हो ।
काँग्रेसले शुरुदेखि नै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ । एमालेले औपचारिक रुपमा पार्टीभित्रको नाम सार्वजनिक नगरे पनि पछिल्लो पटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय उम्मेदवार भन्दै प्रस्ताव गरेको हो । लोसपाले महन्थ ठाकुरको नाम बालुवाटार र चप्पल कारखानासम्म पुगेर सुनाए पनि अन्यत्र लगेको देखिँदैन ।
तर आज साँझ बालुवाटारमा बसेको नेपाली काँगे्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । यो हिसाबले आगामी राष्ट्रपति पनि ब्राम्हण समुदायबाटै चुनिने निश्चित झैँ छ । यसअघि निर्वाचित डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्या भण्डारी पनि व्राम्हण समुदायकै हुनुहुन्छ ।
यसबीचमा भएका तारन्तारका शीर्ष नेताहरुबीचको भेटघाटमा उपराष्ट्रपतिको बारेमा व्यक्ति टुंगो नलागे पनि जातिय र भेगीय हिसाबको निक्र्यौल भएको बताइन्छ । आगामी उपराष्ट्रपति मधेशी समुदायबाट हुने वा दिने सहमति भइसकेको भन्दै जसपाका नेताहरु ढुक्क देखिन्छन् । तर, मधेशी समुदायको उम्मेदवार कुन पार्टीको सिफारिसमा भन्ने निक्र्यौल हुन अझै बाँकी छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा तोकिएका ‘क्लस्टर’ परिवर्तन गरेर उम्मेदवार हुँदा कम्तीमा एउटा पदमा महिला हुनैपर्ने अवस्था हुँदैन । यो अवस्थामा जसपाका बाराबाट निर्वाचित सांसद तथा संसदीय दलका नेता रामसहाय प्रसाद यादवको चर्चा धेरै हुन थालेको हो ।
यसअघि उपाध्यक्ष अशोक राईलाई उक्त पद नदिएर अध्यक्ष उपेन्द्रले रामसहायलाई दिनुको अर्थ पनि बिस्तारै खुल्दैछ । स्रोत भन्छ, ‘रामसहायलाई उपराष्ट्रपति बनाएर उपेन्द्र बारामा उनको ठाउँबाट उपनिर्वाचन जित्ने तयारी छ ।’
राष्ट्रपति र उपराष्ट्रपतिका सम्भावित उम्मेदवारहरुको नयाँ ढंगले चर्चा हुँदै गर्दा पुरानो सत्ता गठबन्धन र एमाले अध्यक्ष केपी ओलीसँगको राजनीतिक सम्बन्धमा पुनः ‘ब्रेक’ लाग्ने सम्भावना आज बेलुकीबाट ह्वात्तै बढेको छ । ‘अप्ठेरो परेको अवस्थामा ओली जे गर्न पनि लचिलो बन्नुहुन्छ । तर यस पटकको उहाँको लचकता ढिलो भएको हो । बेलैमा बुद्धि पुर्याउन नसक्दा एमालेलाई घाटा हुने अवस्था प्रवल बन्दै गएको छ । उहाँ जति लचिलो भए पनि मुलुक पुनः पुरानो गठबन्धनतिर जाँदैछ ।’
टिप्पणीहरू