आठ दलीय गठबन्धन छैन, त्यसको निर्णय पनि छैन : ओली

आठ दलीय गठबन्धन छैन, त्यसको निर्णय पनि छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ बालुवाटारमा विभिन्न राजनीतिक दलहरुको गठबन्धन बनेको समाचारलाई होइन भन्नुभएको छ । राष्ट्रपतिमा पार्टीको तर्फबाट सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग बोल्दै उहाँले आठ दलीय गठबन्धन नबनेको उल्लेख गर्नुभएको हो ।

ओलीको भनाइ छ, ‘आठ दलीय गठबन्धन छैन, गठबन्धनको निर्णय पनि छैन ।’ उहाँका अनुसार हिजो बेलुकी बालुवाटारमा केही दलका साथीहरुलाई बोलाइएको हो तर ती सबै आफ्नो सम्पर्कमा रहेको र कुराकानी भइरहेको छ ।

सबै कुरो फागुन २५ गते थाहा पाइने उल्लेख गर्दै अध्यक्ष ओलीले अन्य विषय बिस्तारै खुल्दै जाने पनि बताउनुभयो । गत पुस १० गते नै राष्ट्रपतिको विषय टुंगो लागिसकेको उहाँको दाबी छ । त्यो दिन भएको सहमति आफूहरुले खुलासा गर्न बाँकी रहेको अध्यक्ष ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जुन प्रतिबद्धता र सहमति भएको छ, त्यसको सर्कल नै पूरा भएको छैन । त्यसअघि नै यताउता हुन्छ भन्ने कुरा हल्ला हो ।’ नेम्वाङको उम्मेदवारी सम्बन्धमा उहाँले आफ्ना उम्मेदवार दाउपेचको उम्मेदवार होइन भन्नुभयो ।

टिप्पणीहरू