विदेश जानबाट रोकिएकी परराष्ट्रमन्त्रीले भनिन् : नबोलाएका पाहुनाले बिगारे !

विदेश जानबाट रोकिएकी परराष्ट्रमन्त्रीले भनिन् : नबोलाएका पाहुनाले बिगारे !

परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले आफ्नो जेनेभा भ्रमण रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति आलोचना गरेकी छन् । आज राष्ट्रियसभा बैठकमा उनले अन्तिम समयमा भ्रमण रोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता गुमाउने काम भएको भन्दै असन्तुष्टी जनाएकी हुन् । 

पौड्यालले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै हिजो जेनेभा जाने कार्यक्रम तय थियो । तर, सत्ता गठबन्धनमा आएको परिवर्तनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा विमानस्थलतर्फ जाने बेलामा भ्रमण स्थगित गरिएको जानकारी दिइएको थियो । मन्त्रीको ठाउँमा पूर्व कानुनमन्त्री गोविन्द बन्दी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा उडेका छन् । 

त्यसप्रति पनि परराष्ट्र मन्त्री पौड्यालको चर्को असन्तुष्टी छ । क्याबिनेटले विज्ञको रुपमा बन्दीलाई आफूसँगै भ्रमणमा पठाउने निर्णय गरे पनि अन्तिममा उनलाई नै मुलुकको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । कार्यकारीले नेतृत्व गर्ने टोलीमा विज्ञले नेतृत्व गरेपछि कानुनी वैधतामाथि प्रश्न उठेको उनको जिकिर छ । 

भारतीय विदेशसचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणप्रति संकेत गर्दै मन्त्री पौडेलले नबोलाएका विदेशी अधिकारीहरु काठमाडौं आउँदा यहाँको राजनीतिक वातावरण खल्बल्लिने गरेको पनि दाबी गरिन् । दुई दिने भ्रमणका क्रममा क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री, दलका शीर्ष नेतासहित स्वयम् परराष्ट्र मन्त्रीलाईसमेत भेटेका थिए । 

सोही विषयले एमाले आज सरकार छाड्ने निर्णयमा पुगेको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने दुई दिन अघिको निर्णय उल्ट्याउँदै आज बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
 

टिप्पणीहरू