माधव नेपालको अडान : विचार र सिद्धान्त मिल्नेसँग एकता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने धारणा दोहोर्याउनुभएको छ । उहाँले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो ।
कर्णाली प्रदेशस्तरीय पार्टी कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएका अध्यक्षले भन्नुभयो, ‘विचार, सिद्धान्त र कार्यशैली मिलेपछि पार्टी एकता गरिन्छ । तर कसैसँग विलय हुने भन्ने कल्पना पनि गरिँदैन ।’
उहाँले सोही धारणा हिजो जनकपुरमा व्यक्त गर्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच केही दिनअघि भएको संवादबाट पार्टी नै एकीकृत हुन लागेको भन्ने हल्ला निराधार भएको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले पछिल्लो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्रियताको पक्षमा भएको दाबी गर्नुभयो । राष्ट्रपतिको निर्वाचनमा अस्ति उम्मेदवारको मनोनयनपछि मुलुकको राजनीतिले नयाँ कोर्स लिएको उहाँको निश्कर्ष छ ।
टिप्पणीहरू