माथिको ‘ग्रीन सिग्नल’ नपाएसम्म एमालेले बाग्मती सरकार नछाड्ने

माथिको ‘ग्रीन सिग्नल’ नपाएसम्म एमालेले बाग्मती सरकार नछाड्ने

संघीय सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेश सरकारका सम्बन्धमा भने कुनै निर्णय गरेको छैन । यसकारण सुदूरपश्चिमबाहेक छ वटा प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरु अन्योलमा परेका छन् ।  

सत्ता समीकरणमा आएको परिवर्तनसँगै एमालेले हिजो बिहान सचिवालय बैठक डाकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । दिउँसो बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका थिए । तर, प्रदेशमा सरकार नछाडेको एमालेले त्यसबारे कुनै निर्णयसमेत गरेको छैन । 

केन्द्रमा पुरानो गठबन्धन फर्काएका आठ दलबीच प्रदेशमा पनि सत्ता सहकार्य गरेर जाने निर्णय भइसकेको छ । सरकारमा रहिरहन अप्ठेरो परेपछि एमालेका मन्त्रीहरु केन्द्रको निर्णय कुरेर बसेका छन् ।बागमती प्रदेशमा केन्द्रले निर्देशन नदिँदासम्म सरकार नछाड्ने एक मन्त्रीले बताए । पार्टी केन्द्रले निर्देशन दिए तत्काल सरकार छाड्न तयार रहेको उनको भनाइ छ ।

प्रदेश नम्बर १, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व गरिरहेको एमाले मधेस, बागमती र कर्णालीमा महत्वपूर्ण मन्त्रालयसहित सरकारमा छ । प्रदेश १ मा हिक्मत कार्की मुख्यमन्त्री छन् । उनलाई माओवादी केन्द्र र राप्रपाको समर्थन छ । प्रदेशसभाको अंकगणित हेर्दा माओवादीले समर्थन फिर्ता लिए कार्कीलाई सरकार जोगाउन कठिन हुने देखिन्छ । 

त्यस्तै, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका लीला गिरी पनि माओवादीले साथ छोड्दा अल्पमतमा पर्ने अवस्था छ । सुदूरपश्चिममा भने त्यतिबेलाको सत्ता गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ढलेर प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसले सरकार बनाएको छ ।

टिप्पणीहरू