प्रदेशको नामाकरणअघि विराटनगरमा निषेधाज्ञा

प्रदेशको नामाकरणअघि विराटनगरमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित प्रदेशसभा वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश नम्बर १ सभाले प्रदेशको नामाकरण गर्ने तयारी थालेपछि आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको निषेधाज्ञामा प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको उल्लेख छ । प्रदेश १ को प्रदेश सभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपछि पनि असहमत पक्षबीच हुनसक्ने सम्भावित झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेश उल्लघंन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

नेपाली काँग्रेस र नेकपा एमालेले प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरेका छन् । नेकपा एकीकृत समाजवादी र जसपाले भने छुट्टै प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव दर्ता गरेका हुन् ।

टिप्पणीहरू