चितवनको उपनिर्वाचनमा डेढ दर्जन दलले भाग लिने
आउँदो वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा १८ वटा राजनीतिक दलहरु सहभागी हुने भएका छन् । निर्वाचन आयोगले फागुन १० गतेदेखि हिजोसम्म सो प्रयोजनको निम्ति तोकेको राजनीतिक दल दर्ता अवधिमा १८ वटा दर्ता भएको आयोगले जनाएको छ । जसमा नेपाल मजदुर किसान पार्टीले पहिलो नम्बरमा दल दर्ता गरेको हो ।
त्यसपछि क्रमशः मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले निर्वाचनका लागि पार्टी दर्ता गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनःजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाली काँग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टीले पनि दल दर्ता गराएका छन् ।
मंसिर ४ गतेको आमनिर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । सर्वोच्च अदालतले उनलाई दोहोरो नागरिकता लिएको मुद्दामा दोषी ठहर गरेपछि रिक्त भएको उक्त क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो ।
टिप्पणीहरू