प्रचण्ड, बाबुराम, वैद्य, विप्लवसहित माओवादी नेताहरु एकै ठाउँमा जुट्ने

प्रचण्ड, बाबुराम, वैद्य, विप्लवसहित माओवादी नेताहरु एकै ठाउँमा जुट्ने

फागुन १ गते जनयुद्ध दिवससमेत सँगै बसेर नमनाएका विभिन्न घटकका माओवादी नेताहरु आउँदो आइतबार एकै ठाउँमा भेला हुने भएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेताहरुले आइतबार एउटै मञ्चबाट भाषण गर्न लागेका हुन् ।   

जनयुद्धका शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले अन्तरक्रिया कार्यक्रम आयोजनागरी प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बाँस्तोला कन्चन र माओवादी समाजवादीका अध्यक्ष कर्णजितलाई वक्ता बनाएर एकै ठाउँमा जुटाउन लागेको हो । ‘जनयुद्ध, नेतृत्वको दायित्व तथा बेपत्ता योद्धाको योगदान’ विषयक उक्त अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने जनाइएको छ ।

जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी) का नेताहरु अहिले फरक–फरक पार्टीमा छन् । जनयुद्धबाट उदाएको कुनै बेलाको शक्तिशाली पार्टी पटक–पटकको फुट र विभाजनले कमजोर अवस्थामा रहेका उनीहरु अहिले स–साना समूहमा सीमित छन् । त्यसप्रति चिन्ता जनाउँदै आएका शहीद तथा बेपत्ताका परिवारका सदस्यहरुले सबै घटकहरुलाई एकताबद्ध हुन् आग्रहसमेत गर्दै आएका छन् ।

टिप्पणीहरू