महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने

महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं महानगरपालिकाले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९–८० को स्वीकृत नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम समितिको राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । 

आउँदो चैत १५ र १६ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा ७५३ वटै न्यायिक समितिको पदाधिकारीलाई महानगरपालिकाले उपस्थित हुन भनेको छ । महानगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सबै न्यायिक समितिको संयोजकलाई पत्र लेख्दै कार्यक्रममा उपस्थित हुन आह्वान गरेकी छिन् । 

न्यायिक समितिका पदाधिकारीबीच बृहतरुपमा छलफल गरेर सफल तथा असल अभ्यासहरुको आदानप्रदान गर्न यसले मद्धत पुर्याउने पत्रमा उल्लेख छ ।  साथै, विगतको सिकाई, भोगाई र अनुभवबाट स्थानीय विवाद निरुपण तथा न्याय सम्पादनको कार्यलाई एकरुपता र गुणस्तरीय कायम गर्नु सम्मेलनको मुख्य उद्देश्य भएको बताइएको छ । 

पत्रमा भनिएको छ, ‘यस सम्मेलनले सबै स्थानीय सरकारअन्तर्गतका न्यायिक समितिहरुको पहिचान, क्षमता विकास र भावी कार्यदिशा तय गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।’ 

महानगरपालिकाले फागुन ३० गतेभित्र सम्मेलनमा सहभागी हुने सुनिश्चितता पत्र पठाइसक्न पनि आग्रह गरेको छ ।
 

टिप्पणीहरू