आईजीपीले बोल्ने एकथोक, गर्ने अर्कै थोक

आईजीपीले बोल्ने एकथोक, गर्ने अर्कै थोक

प्रहरी महानिरीक्षक वसन्त कुँवरले अघिल्लो हप्ता रूपन्देही जिल्ला प्रहरी कार्यालयको उद्घाटन गर्दै तराई र सीमा क्षेत्रका चौकी रोज्नेमाथि कटाक्ष गरे । ‘सेतो टोपीमाथि समाजमा नकारात्मक धारणा छ, तराई मात्र रोज्ने, एकै ठाउँ बसेर अनाधिकृत फाइदा लिन खोज्ने प्रवृत्ति अब अन्त्य हुन्छ’, उनले सार्वजनिक समारोहमा यस्तो बोलिरहँदा जिल्ला ट्राफिकका कर्मचारीहरूले हेराहेर गरे ।

तर उनैको गृह जिल्ला अर्घाखाँचीका सहायक निरीक्षक मधुसुदन बञ्जाडे पाँच बर्षदेखि भैरहवामा छन् । गुल्मी जिप्रका दरबन्दी रहेका उनी जिल्ला ट्राफिक कार्यालयअन्तर्गतका पोष्टहरूमा होइन, सडकमा खटिन्छन् । काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयमा दरबन्दी रहेका हवल्दार पदम भण्डारी पनि चार–पाँच बर्षदेखि भैरहवा ट्राफिकमै छन् । उनको काम बेलहिया बाइपासमा भारतीय सवारी साधनसँग पैसा उठाउनु रहेको छ । 

ट्राफिकमा तालिम प्राप्त प्रहरी हुन्छन् । तर कुनै तालिम नलिए पनि ट्राफिकको जागिर खाने भैरहवामा थुप्रै छन् । सहायक हवल्दार नरेन्द्र केसी, हवल्दार ढुण्डिराज खनाल, सहायक हवल्दार विक्रम कुँवर, देवेन्द्र पचभैया, नारायण घर्ती यस्तै पात्र हुन् । यीमध्ये केसीको वडा प्रहरी भैरहवा, खनालको सुदूर पश्चिम, कुँवरको भैरहवा कारागार र घर्तीको नवलपरासी दरबन्दी छ । काजमा सीमा क्षेत्रमा खटिएर भारतबाट भित्रिने ओभरलोड गाडीबाट पैसा बटुल्नु उनीहरूको दैनिकी हो । 

ट्राफिक प्रहरीले भारतीय मालबाहक ट्रक, रूपन्देही तथा नवलपरासीस्थित उद्योगहरूमा कच्चा पदार्थ ओसार्ने ट्रक, गिट्टी, बालुवा बोक्ने टिप्परसँग नियमित रकम बटुल्दै आएको छ । बेलहिया बाइबास, बेथरी र भलवारी क्षेत्रमा नियमित रकम उठाउने गरिन्छ । टिप्परलाई भने महिनावारी दुई हजार बुझाउनुपर्ने रेट छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहुँचकै कारण सिपाही–हवल्दारलाई ड्युटीमा खटाइन्छ । सुख्खा हुने भएकाले जुनियर अधिकृत त्यता जान मान्दैनन् ।

ट्राफिक श्रोतका अनुसार बेथरीबाट ३० हजार, धकधईबाट २० हजार, लुम्बिनीबाट २० हजार, सालझण्डीबाट १५ हजार, मंगलापुरबाट २५ हजार र बेलहियाबाट ५० हजार मासिक बुझाउने गरी ट्राफिक प्रहरी खटाइन्छ । रूपन्देहीको बोर्डर क्षेत्रमा बर्षौंदेखि खटिएर असुल्न पाउनु चानेचुने कुरा होइन । एक ट्राफिक प्रहरी भन्छन्– ‘बेलहियाबाटै मासिक ३० लाखभन्दा बढी असुली हुन्छ, जसले गर्दा हाकिम रिझाएर बर्षौं टिक्ने गरेका छन् ।’ जबकि जिल्लामा खटिने एसपी र ट्राफिक प्रहरी प्रमुखको रूपमा खटिने इन्स्पेक्टर पनि एक बर्षभन्दा बढी बस्न पाउँदैनन् ।’

जिल्लाभित्रका टायल, मार्बल, छड, सिमेन्ट पसल तथा उद्योगहरूसँग महिनावारी असुल्ने गरिएको पनि ती प्रहरीले जानकारी दिए । जिल्ला बाहिर जाने गाडीको रसिद काटी जरिवाना असुल्ने र जिल्लाभित्र अनलोड हुनेसँग पैसा लिएर छाड्ने गरिएको बताइन्छ । 

माथिसम्मै पुग्छ रकम

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा छ । त्यहाँका प्रमुख एसपी श्यामबहादुर खत्री हालै निजी कामले भारतको नौतनवा गएका थिए । फर्कंदा साँझपख भैरहवाको आँखा अस्पतालनेर ९–१० वटा भारतीय ओभरलोड ट्रक रोखिराखेको देखे । प्रति ट्रक २ हजार भारु लिएको तर रसिद नकाटेको पाए । त्यसमा संलग्न एक हवल्दारसहित पाँच प्रहरीमाथि कार्वाही प्रकृया अघि बढाए । तर भोलिपल्टै एक लाख बुझेपछि घटना सामसुम भएको छ । 

बेलहियाबाट छिरेका भारतीय सवारीहरूलाई प्रत्येक गौंडामा ढुकेर रकम असुल्ने काम मात्र भएको भन्दै आइजिपी कुँवरकै सामुन्ने सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खाँनले कुरा उठाए । मेयरको कुरालाई गम्भिरतापूर्वक लिंदै कुँवरले एक से एक प्रहरी निरीक्षकले किन तराईका चौकी रोज्छन् भन्ने कुरा आफूले बुझेकोले अब सुधार्ने प्रतिवद्धता सार्वजनिक रूपमै जनाएका थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू