राष्ट्र संघीय महासचिवसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट

राष्ट्र संघीय महासचिवसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच कतारको राजधानी दोहामा कुराकानी भएको हो । उपप्रधानमन्त्री र महसचिव अति कम विकसित मुलुकहरुको शिखर सम्मेलनको क्रममा दोहामा हुनुहुन्छ । 

यसअघि हिजै उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनलाई सम्बोधन गर्दै पछिल्लो समय देखिएको नेपालको बढ्दो ऋण र मुद्रास्फीतिको चुनौतीबाट पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो रहेकोतर्फ सहभागी सबै राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । आगामी दिनमा अति कम विकसित मुलुकहरुले बलियो औद्योगिक क्षमता, स्तरीय उत्पादकत्व र विस्तारित निर्यात आधारका साथ आफ्ना परम्परागत आर्थिक संरचना परिवर्तन गर्न आवश्यक रहेकोतर्फ उहाँले औंल्याउनुभएको छ ।

जलवायु संकटको सबैभन्दा ठूलो शिकार अति कम विकसित मुलुक भएको उहाँको भनाइ छ । तसर्थ यसको न्यूनीकरण एवम् न्यून क्षतिका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्णरूपमा परिचालन हुनुपर्नेमा नेपालको जोड रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको बताइएको छ । 

नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जानकारी पनि गराइएको छ । यसका लागि नेपालले स्तरोन्नतिसँगै सङ्क्रमण रणनीति लागू गर्न लागेको आफ्नो सम्बोधनमा उल्लेख गर्नुभएको छ ।

हालैको कोभिड महामारीसँगै देखापरेको आर्थिक संकटसँग जुध्न र आर्थिक वृद्धिको निम्ति सबैजसो मुलुकबीच आर्थिक सहयोग र प्रविधि हस्तान्तरणको प्रक्रियाले थप गति लिनुपर्ने नेपालले जोड दिएको छ ।
 

टिप्पणीहरू