प्रतिगामीहरु सल्बलाएको जातीय सँगठनहरुको ठहर
एकीकृत तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा, नेपालले बृहत शान्ति सम्झौताविरुद्धका हर्कतहरु जारी रहे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । बृहत शान्ति सम्झौताको भावना र मर्मविपरीत केही दिनयता भएको कार्यप्रति आपत्ति जनाउँदै उसले त्यसको कडा प्रतिवाद गर्ने जनाएको हो ।
जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रसहित प्राप्त उपलब्धिलाई उल्टाउन प्रतिगामीहरुले गरिरहेको षड्यन्त्रप्रति मोर्चाले ध्यानाकर्षण भएको बताएको छ । मोर्चाका संयोजक सूर्यमान दोङ ‘लालध्वज’ ले आज विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई निशाना बनाएर प्राप्त उपलब्धि उल्ट्याउने गरी भइरहेको षड्यन्त्र र जालझेल स्वीकार्य नहुने बताएका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड प्रचण्डलाई मुख्य निशाना बनाई प्राप्त उपलब्धिलाई उल्ट्याउने गरी भइरहेको षड्यन्त्र र जालझेल स्वीकार्य छैन,"विज्ञप्तिमा भनिएको छ,‘राजतन्त्रको अँध्यारो युगमा नागरिकलाई रैती बनाएर नागरिकको अधिकार कुण्ठित गरेकाहरु अहिले सल्बलाएका छन् भन्ने हाम्रो निष्कर्ष छ ।’
जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रतिगामीहरुले मुलुकलाई अध्याँरोतर्फ धकेल्ने प्रयत्न गरिरहेको मोर्चाको आरोप छ । साथै, मोर्चाले जनयुद्धबाट प्राप्त संघीयता, समावेशीता, धर्मनिरपेक्षताको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको जनाएको छ ।
टिप्पणीहरू