माओवादीहरुले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको सामूहिक प्रतिवाद गर्ने
माओवादी धारका आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिहरुको एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्धा दर्ता हुन लागेपछि माओवादी घटकहरु एक ठाउँमा उभिएर प्रतिरोध गर्ने निर्णयमा पुगेका हुन् ।
यसअघि आज बालुवाटारमा विभिन्न समयमा विभाजित भएका आठ वटा माओवादी पार्टीका नेताहरुले सामूहिक छलफल गरेका थिए । उक्त छलफलपछि संयुक्त विज्ञप्ति निकालेर यस्तो धारणा बाहिर ल्याएका हुन् ।
जनयुद्धका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने प्रचण्डको अभिव्यक्तिलाई आधार मानेर सर्वोच्च अदालतले फौजदारी मुद्दा दर्ता गर्न आदेश दिएपछि राजनीति तरंगित भएको छ । आफूलाई १७ हजारको हत्यारा भनि सार्वजनिक टिप्पणी भैरहेपछि तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धमा त्यतिबेलाको राज्यपक्षबाट १२ हजार भन्दा बढी मानिस मारिएको भन्दै माओवादीबाट भएको क्षतिको जिम्मा आफूले लिने बताउनु भएको थियो ।
अहिले तीन वर्षपछि त्यहि अभिव्यक्तिलाई आधार बनाएर मुद्धा दर्ता गर्न लागेपछि विभिन्न समयमा विभाजित भएका माओवादीहरुलाई एक ठाउँमा जुटाएको हो । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी घटक आठ दलको बैठकले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित् विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न माओवादीहरुले सरकारसँग जोडदार माग पनि गरेका छन् । शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न एकमत रहेको जनाएका उनीहरुले विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा प्रतिवद्ध रहेको बताएका छन् ।
विज्ञप्तिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा माओवादी समाजवादी अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू