अराजक गतिविधि तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीलाई वाइसीएलको आग्रह

अराजक गतिविधि तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीलाई वाइसीएलको आग्रह

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जनयुद्धकालीन मुद्दा नियमित अदालती प्रक्रियामा प्रवेश गरेपछि माओवादी वृत्त तरंगित भइरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।  

माओवादीले सञ्चालन गरेको जनयुद्धमा भएको व्यक्ति हत्याको अभियोगमा प्रचण्डविरुद्ध आज बिहान सर्वोच्च अदालतमा मुद्दा दर्ता भएलगत्तै वाइसिएलको टोली दिउँसो ज्ञापनपत्र बुझाउन पुगेको थियो । उनीहरुलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालिन न्यायको मान्यताअनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउन सहमत छन् । केही प्राविधिक कारणले मात्र रोकिएको हो ।’

माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले व्यवस्था विरोधी अराजक गतिविधिहरुको नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । शान्ति प्रक्रिया बिथोलिने गरी अदालतमा मुद्दा दर्ता गरिएको विषयमा वाइसिएलका नेताहरुले असन्तुष्टि राखेका थिए । त्यस्तै, संविधानको रक्षा र विकास गर्दै व्यवस्थाको सदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीलाई सुझावसमेत दिएका छन् । 

वाइसिएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जनयुद्ध, जनआन्दोलनलगायत व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा बलिदान दिने शहीदहरुलाई राष्ट्रिय शहीदको घोषणा र तिनका परिवानजनहरुलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापन गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको संकट मजबुत बनाउन पहल लिनुपर्ने लगायतका माग राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले वाइसिएलका युवाहरुले राखेका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिवर्तनको रक्षाका लागि युवाहरु सचेत र सजग हुनुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू