राष्ट्रपति निर्वाचनअघि राप्रपाको बैठक, मतदानबारे अनौपचारिक निर्णय हुने

राष्ट्रपति निर्वाचनअघि राप्रपाको बैठक, मतदानबारे अनौपचारिक निर्णय हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकेको छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ । 

आजको बैठकमा भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपति निर्वाचनको मतदानमा कसलाई समर्थन गर्ने भन्नेबारे छलफल र अनौपचारिक निर्णय गर्ने सम्भावना छ । 

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार चयन गर्ने बेलामा नयाँ समीकरण बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर राप्रपा सरकारबाट बाहिरिएको थियो । 

राष्ट्रपतिमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर, राप्रपा, रास्वपा र नेमकिपाले आजसम्म कसलाई मतदान गर्ने वा नगर्ने भन्नेबारे कुनै निर्णय गरेका छैनन् । निर्वाचन आचारसंहिताअनुसार सोमबार रातिदेखि भोलि दिउँसो ३ बजेसम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार र मतदाताले पक्ष वा विपक्षमा औपचारिक धारणा र निर्णय सार्वजनिक गर्न पाउने छैनन् ।

टिप्पणीहरू