सुवासको नाम सुन्दा अध्यक्ष सनक्क

सुवासको नाम सुन्दा अध्यक्ष सनक्क

प्रचण्ड र केपी ओलीले जतिबेला एकअर्कोलाई आ–आफ्नो सहारा मानिरहनुभएको थियो । कुरा त्यही बेलाको हो । प्रचण्डले सुवास नेम्वाङको नाम लिँदा, ओलीले ‘तपाईं त्यस्ताको नाम लिने ? छाड्दिनुस् यो कुरा...’ भन्नुभयो । 

संयोगवश, एमालेको तर्फबाट आज हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार उनै सुवास हुनुहुन्छ । पुस १० पछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीले राप्रपादेखि रास्वपासम्मको समर्थन जुटाइदिने क्रममा राष्ट्रपति एमालेलाई दिने भद्र सहमति भएपछि सुवासको नाम उठ्यो र काटकुटमा समेत प¥यो । यो कुरा आफ्ना लागि भोट माग्न पुग्नुभएका सुवासलाई प्रचण्डले केही दिनअघि बालुवाटारमा खोल्नुभएको हो ।

‘मैले त सुवासलाई सुनाइदिएँ नि’ भन्दै प्रचण्डले १९ गते शुक्रबार साँझ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनको कुरा खोल्नुभयो । ‘मैले त तपाईं या सुवास उठ्ने हो भने ठीकै छ तर अरुलाई उठाउने हो भने भन्न सकिन्न नै भनेको थिएँ’, प्रचण्डले सुवासलाई सुनाएकै कुरा गरेपछि कुलमानलाई ओलीले दिएको जवाफ सुनाउनुभयो, ‘त्यस्ता मान्छेलाई राष्ट्रपति बनाएर के हुन्छ ? बेकारको कुरा ! परेको बेला १० बित्ता उछिट्टिएर उल्टोसुल्टो बोल्छ, अनि उसैलाई राष्ट्रपति ?’

प्रचण्डका अनुसार ओलीले गुरु बराल, डोरमणि पौडेलहरूको नाम लिइरहनुभयो, सुवास, ईश्वर पोखरेलहरूको त नाम सुन्नै चाहनुभएन । प्रचण्डले कुलमानलाई भन्नुभयो, ‘मौखिक रुपमा एमालेसँग राष्ट्रपतिको सम्झौता भएकै हो तर सुवासको प्रसंग यसरी कोट्याउने क्रममा ‘कहाँ हुन्छ ?’ भन्दै सीधै इन्कार गर्ने, लिइएका नामहरू सुन्दैमा रबर स्ट्याम्प–रवर स्ट्याम्प लाग्ने !’ 
 

टिप्पणीहरू