राजसंस्था फर्काउन खोज्ने मार्सीले भने‘जनयुध्दमा घर,बैंक लुट्नेलाई खोई कारबाही ?"
राजसंस्थाको पक्षमा चर्को वकालत र गणतन्त्रविरुध्द उग्र नारा लगाउँदै आएका दुर्गा प्रसाईं उर्फ मार्सीले आफूहरुले बैंक तथा वित्तीय संस्था लुट्ने कुनै योजना नबनाएको बताएका छन् । आज बिहान उनी संयोजक रहेको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान २०७९ को कार्यालयमा बोलाइएको पत्रकार सम्मेलनमा प्रसाईंले उक्त स्पष्टीकरण दिएका हुन् ।
आफूहरुले बैंक लुट्ने योजना नबनाएको तर सर्वसाधारणलाई बैंक ऋणको कारण अकालमा मर्न नदिन आग्रह गरेको भन्दै उनले झापामा फागुन १ गते गरेको चर्को भाषणको बचाउ गरेका छन् । उनले भने, ‘हिजो जनयुध्दमा घर,बैंक लुटिएको थियो,उनीहरुलाई खै कार्बाही ? भुईं मान्छेको हितमा शान्तिपूर्ण आन्दोलन गर्नेलाई बिनाकारण थुनामा राख्नुको कारण के हो ?’
उनले कसैलाई पनि कालो मोसो नदल्ने र भौतिक क्षति नपुर्याउने प्रतिबध्दता पनि जनाएका छन् । उनको तर्क छ,
‘२० लाखभन्दा तलको ऋण मिनाहा गर्न सकिन्छ । इतिहासमा शंखधर साख्वाले भक्तपुरमा कसरी ऋण मिनाहा गरेका थिए ? त्यसैअनुसार राज्यले गर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘मलाई प्रचण्डको विषयमा बोल्न आवश्यक छैन । उहाँ प्रधानमन्त्री भएर के भो ? नभएर के भो ? प्रचण्ड जेल गएर के भो ? नगएर के भो ? तर हाम्रा भुईंमान्छे बिना कारण मर्ने वातावरण बनाउन भएन ।’
टिप्पणीहरू