राप्रपाले जस्तै नेमकिपाले पनि रामचन्द्र र सुवास दुबैलाई भोट नहाल्ने

राप्रपाले जस्तै नेमकिपाले पनि रामचन्द्र र सुवास दुबैलाई भोट नहाल्ने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । आज बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । 

राष्ट्रपतिका दुबै उम्मेदवारबीच तात्विक भिन्नता नभएकाले निर्वाचनमा भोट हाल्न नजाने निर्णय गरेको नेमकिपाले बताएको छ । सांसदसमेत रहेका सो पार्टीका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै दलीय दृष्टिकोणबाट हेर्नेहरु उम्मेदवार बनेकाले भोट नहाल्ने निष्कर्षमा पुगेको बताए । 

‘राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन्, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्विक असर छैन्’, विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्झौता, एसपीपी सम्झौता, गोर्खा भर्ती र नेपालको हितविपरीतको सन्धिसम्झौताहरु खारेज गर्ने विषयमा दुबै उम्मेदवारले प्रतिबद्धता नजनाएकाले यस्तो निर्णय गर्नुपरेको सुवालको भनाई छ । नेमकिपाले यसबारे दुबै उम्मेदवारको धारणा मागेको थियो । 

त्यस्तै, नेपाली भूमि कालापानीमा ७० वर्षभन्दा अगाडिदेखि कब्जा गरी बसेका भारतीय सेनालाई हटाउनेलगायतका विषयमा पनि दुबै पार्टीले चासो नदेखाएको नेमकिपाको आरोप छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले राष्ट्रपति निर्वाचनमा मतदान भइरहेको छ । कांग्रेस, माओवादीसहित आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
 

टिप्पणीहरू