‘कोशी’ विरुद्ध आमहड्ताल घोषणा : सँगसँगै लेटरप्याड जलाइने, बोर्ड हटाइने
प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा असन्तुष्ट रहेका पूर्वी नेपालका विभिन्न जातीय संगठनहरुले आदिवासी जनजाती महासंघसँग मिलेर अर्को चरणको संयुक्त आन्दोलन घोषणा गरेका छन् । यसअघि आ–आफ्नै तरिकाले संघर्ष अघि बढाएका ती संगठनहरुले आन्दोलनलाई केन्द्रीकृत गरेर जाने सहमति गरेका हुन् ।
लिम्बुवान–किरात संयुक्त संघर्ष समिति, पहिचानसहितको प्रदेश नम्बर १ को पुनः नामाकरण अभियान समिति र किरात–राई यायोक्खाले प्रदेशको नाम खारेजीको निम्ति अहिलेसम्म भएका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै आज संयुक्त बैठक राखेका छन् । आदिवासी जनजाती महासंघ र अरु जातीय घटकहरुसँग संयुक्त बैठकले हालसम्म भएका आन्दोलनका कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ भने एकीकृत आन्दोलनका लागि ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ गठन गरेको छ ।
आजदेखि नयाँ संघर्ष समितिका नामबाट आन्दोलन थाल्ने निर्णयानुसार तीन चरणका कार्यक्रम सार्वजनिक गरिएको छ । जसमा आज र भोलि प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तहलगायत कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने र लेटरप्याडहरु जलाउने कार्यक्रम छ ।
त्यस्तै, प्रदेशको नाम कोशी राख्ने प्रस्तावमा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण, भित्ते लेखन गर्ने, उद्योगी, व्यवसायी, व्यापारीयातायत विभिन्न व्यक्ति एवम् संस्थाहरुसँग समन्वयात्मक बैठक बसेर अन्तरक्रिया चलाउने पनि आन्दोलनका कार्यक्रममा समेटिएका छन् ।
त्यस्तै, पर्सि २७ गते प्रदेशव्यापी राँके जुलुस निकाल्ने, २८ गते प्रदेशव्यापी आमहड्ताल गर्ने र चैत ०५ गते प्रदेशको राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने संयुक्त संघर्ष समितिको घोषणा छ ।
टिप्पणीहरू