दिनुपर्दा पुरुष, लिनुपर्दा महिला

दिनुपर्दा पुरुष, लिनुपर्दा महिला

हुने–पाउने पद भए खल्तीका नाम ! नहुने–नसकिने कुरामा चल्तीका नाम ! यो हो, एमालेले अवलम्बन गरेको पछिल्लो नीति । हार्नेगरी राष्ट्रपतिको उम्मेदवार छान्दा सुवाष नेम्वाङ र उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई खडा गर्ने त्यही एमालेले एक दिनको फरकमा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक छान्यो । तीन महत्वपूर्ण पदका नियुक्तिबारे पार्टीको कुनै बैठकमा निर्णय भएन ।

अध्यक्ष केपी ओलीको खल्तीबाट नाम निकालियो जसमा महिला एकजना पनि परेनन् । हार्ने गरी राष्ट्रपतिको उम्मेदवार बनाइएका सुवाष नेम्वाङलाई कम्तीमा पनि संसदीय दलको नेता बनाइदिएको भए आदिवासी जनजातिका नाममा उठाइएको प्रश्न ठीकै रहेछ भन्ने पथ्र्यो । राष्ट्रपतिजस्तो मुलुकको सर्वोच्च पदका लागि तयार पारिएका व्यक्तिलाई दिनुपर्ने भएपछि संसदीय दलको पनि उपनेतामा थन्क्याइयो । अरुले भए शायद यस्तो अपमान स्वीकार गर्दैन थिए, सुवाष परे लौ त नि भन्ने खालका । एमाले नेताहरू नै भन्न थालेका छन्, ‘हुने, पाउने पदमा चिम्से आँखा र थेप्चे नाक किन काम लाग्थे र ?’

उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी पहिल्यै राष्ट्रपति बनाइनुपर्ने व्यक्ति हुन् । ०७४ मा विद्यालाई राष्ट्रपति दोहो¥याउनुअघि सम्भावित नाममाथि छलफल हुँदा उनको नाम जोडतोडका साथ उठेको थियो । तिनलाई अहिले उम्मेदवार बनाइयो, उपराष्ट्रपतिको । जित्ने भए त्यो पदमा उठाइने अरु नै हुन्थे, हार्नलाई अगाडि सारिएको बताइँदै छ ।

सुवाषलाई संसदीय दलको उपनेता नियुक्त गरिएको अघिल्लो दिन पदम गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक बनाइयो । समावेशिता, समान अवसर र महिला सहभागिताको धज्जी कसरी उडाइयो भने, बिनाप्रतिस्पर्धा, आशीर्वादको शैलीमा दिइने अवसरमा पुरुष, त्यसमाथि दुबै खस–आर्य समुदायका । प्रमुख सचेतक बनाइएका पदम पुस ११ देखि फागुन १५ सम्म, अर्थात् ६४ दिने स्वास्थ्य मन्त्री भएका व्यक्ति ।

एउटा अवसर पाएको व्यक्तिले लगत्तै अर्को अवसर पाउँदा एमालेका थुप्रै सांसद ट्वाल्ल परेका छन् । महेश बर्तौला सचेतक बनाइए, युवा व्यक्ति त भए । तर, एमालेमा युवावयका अरु महिला पनि थिए । ओलीलाई युवा नै चाहिएको थियो भने रोल्पाकी ईश्वरी जिएम एमालेकी सबभन्दा कान्छी सांसद थिइन् । उनीभन्दा बढी उमेरका अरु पनि युवा महिला थिए । तर, चल्तीका नामलाई प्रतिस्पर्धामा उतारेर, बिना प्रतिस्पर्धा अवसर दिने मौका आउँदा खल्तीका नाम निकाल्ने बानी परेपछि यस्तै हुँदो रहेछ भन्ने गुनासो सुनिन्छ ।
 

टिप्पणीहरू