पूर्वप्रधानमन्त्रीले पटक–पटक पत्नीको नाम लिएपछि...
यता हेर्यो, उता हेर्यो, दोहोर्यfई–तेहेर्योई प्रसंग आउँछ हिसिलाको ! ‘बाबुरामजीले पनि भन्नुभा’छ’ भन्दै फेरि अर्कातिर उठ्छ उनकै कुरा ! सत्ता गठबन्धनको तर्फबाट अघिल्लो शनिवार उपराष्ट्रपतिको उम्मेदवार चयन गर्नुअघि यसरी पटक पटक वामपन्थी नेत्री हिसिला यमीको नाम आयो । तर, टुंगोमा पुगेन ।
‘संविधानको अक्षरमात्र हेरेर हुँदैन, भावना पनि हेर्नुपर्छ । पहिला विद्या र पासाङ भएजस्तो’ भन्दै डा.बाबुराम भट्टराईले शुक्रवार कुरा उठाउनुभयो, ‘तपाईंहरूसँग महिला हुनुहुन्न भने केही छैन, हिसिलाजी हुनुहुन्छ नि !’ उहाँ नेतृत्वको समाजवादी पार्टीसहित लोसपा, नागरिक उन्मुक्ति, जनमत र प्रभु साहसम्मले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको निर्णयभन्दा फरकका साझा उम्मेदवार दिने निधो गरे । तर, नामबारे बाबुरामले बारम्वार पत्नीलाई मात्र सम्झिरहनुभयो । ‘पढा–लेखा, अनुभवी, गहन व्यक्तित्व हुनुपर्छ’ भन्दै दोहोर्याउनुभयो, ‘महिला, आदिवासी–जनजातिको पनि कुरा छ, फेरि काठमाडौंको भनेर मात्रै हुँदैन, यहाँका नेवार समुदाय साँच्चै नै संकुचनको शिकार पनि भएका छन्, त्यसैले मेरो प्रस्तावमाथि विचार गर्ने हो कि...!’
जनमत पार्टीका अध्यक्ष सिके राउतले ममता झाको नाम उच्चारण गरेपछि बाबुराम केही बोल्नुभएन । गठबन्धनको एउटै उम्मेदवार होस् भन्नेतर्फ प्रधानमन्त्री प्रचण्डको अन्तिमसम्म जोड रह्यो । बाबुरामहरूले फरक उम्मेदवार दिने विषयमा शुक्रवार छलफल गर्दाको रिपोर्टिङ उहाँ स्वयंले प्रचण्डलाई गर्नुभएको रहेछ । गठबन्धनको शनिवार सम्पन्न बैठकमा तै कुरा मिलिहाल्छ कि भनेर प्रचण्डले पनि भन्नुभयो, ‘बाबुरामजीबाट हिसिला यमीको नाम आएको छ...!’ प्रचण्डको कुरा सुनेपछि माओवादी नेताहरूसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले व्यंग्य गर्नुभयो, ‘हप्ता बिराएर श्रीमान् बाबुरामलाई राष्ट्रपति, श्रीमती हिसिलाजीलाई उपराष्ट्रपतिको कुरा आइरहेको छ ।’ नेताहरू गलल हाँसे !
रामसहाय यादवलाई उपराष्ट्रपति बनाई उपेन्द्र यादवलाई बाराको रिक्त निर्वाचन क्षेत्रबाट संसदमा प्रवेश गराउने प्रस्तावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको मतैक्यता रहँदा बाबुराम, सिके राउत, महन्थ ठाकुरदेखि रमेश चौधरी र प्रभु साहसम्म सहमत भएनन् । दक्षिण उपेन्द्रलाई संसदमा स्वीकार्ने पक्षमा छैन । अहिलेदेखि हैन, मंसिर ४ को निर्वाचनताका सप्तरीमा ‘रअ’ को अलग्गै टोली ढुक्कै तैनाथ भएदेखि नै त्यो कुरा बुझिँदै आएको हो । व्यक्तिका रूपमा रामसहायलाई उपराष्ट्रपति नमानेको हैन, उनले जित्दा त्यहाँबाट उपेन्द्र संसदमा आउँछन् भन्ने चासोमात्रै हो ।
निर्वाचन आयोगले राष्ट्रपतिमा खस–आर्यतर्फबाट पुरुष उम्मेदवार निर्वाचित भइसकेको स्थितिमा उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्छ भन्ने कानुनी व्यवस्थाको व्याख्या गर्दै महिलाबाहेकको उम्मेदवारी दर्ता नलिने आशयको धारणा सार्वजनिक ग¥यो । त्यसअघि ममता झालाई उठाउने समूहको बैठकमा महन्थ ठाकुरको नाम प्रमुख रूपमा उठेको थियो । जब महिलाको कुरा आयो, तब महन्थको नाम हरायो । किनभने, एमालेले पनि अष्टलक्ष्मी शाक्यको नाम टुंगो लगाइसकेको थियो । पुरुष उठ्दा उम्मेदवारी नै दर्ता नहोला भन्ने बुझाई थियो । दर्ता भएछ भने पनि बीचमा उम्मेदवारी रद्द भइदियो भने बिजोग हुन्छ भनेर पनि महन्थ पछाडि हट्नुभयो । सत्ता गठबन्धनले चाहिँ रामसहायलाई उम्मेदवार बनाउँदा बनाउँदै त्यही पार्टीकी राष्ट्रियसभा सदस्य प्रमिला यादवलाई पनि उठाउनुको पछाडि यही खतरा कारक थियो । जब निर्वाचन अधिकृत महेश शर्माले रामसहायको उम्मेदवारी कायम हुने बताए, तब सोमवारमात्रै प्रमिलाले उम्मेदवारी फिर्ता लिने घोषणा गरिन् ।
देशको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमशः रामवरण यादव र परमानन्द झा एकै लिंग र समुदायका थिए । कारण हो, त्यसबेला संविधान जारी भएको थिएन, अन्तरिम संविधानमा पनि फरक लिंग वा समुदायको कुरा थिएन । त्यसपछि विद्या राष्ट्रपति हुनुभयो, नन्दबहादुर पुन (पासाङ)ले उपराष्ट्रपतिमा जित्नुभयो ।
टिप्पणीहरू